समाचार

काठमाडौं ।
डेनमार्क बस्दै आएका कवि प्रकाश सापकोटाद्वारा लिखित कविताकृति ‘सन्नाटाका सुस्केरा’ सार्वजनिक गरिएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि दिनेश अधिकारीलगायतले कृति लोकार्पण गरे । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि अधिकारीले प्रकाशको कविताको चर्चा गर्दै कुनै पनि कविता आम पाठकले बुझ्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।
अधिकारीले कविता लेखनको सन्दर्भ जोड्दै भने, “सबैभन्दा पहिले कविताले कवि आफैँलाई आनन्द दिनुपर्छ । कविले आफैँले आफूलाई तिखार्दै, परिमार्जन गर्दै जानुपर्छ ।” कवि प्रकाशसँग आफ्नो पहिलो भेट अमेरिकामा भएको स्मरण गर्दै प्रकाशका कविता राम्रो भएको बताए । सार्वजनिक कृतिमाथि कविहरू ठाकुर बेलबासे र यादव भट्टराईले पाठकीय टिप्पणी गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कवितामा आफ्नोपन आवश्यक रहेको बताए । उक्त अवसरमा राधेश्याम लेकाली, पवन आलोक, छविरमण सिलवाल, केशव पराजुली, पूर्णबहादुर श्रेष्ठलगायतले बोले भने कवि सापकोटाले पठाएको पत्र कवि विश्व सिग्देलले वाचन गरे । सार्वजनिक कृतिभित्रबाट दीपक चौलागाईं र रुपा रिसालले कविता वाचन गरे ।