समाचार
काठमाडौँ ।
पत्रकार निशान्त ढुङ्गानाले नेपालीमा अनुवाद गरेको ‘उद्यमशीलता एक परिचय’ पुस्तक विमोचन गरिएको छ । शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी पुस्तक विमोचन गरिएको हो ।
उक्त पुस्तक बेलायती अर्थशास्त्री इमोन बटलरले लेखेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, युवा उद्यमी प्रतिक राउत लगायतले पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पुस्तकले उद्यमशीलताको विषयमा आधारभूत ज्ञान दिने बताए । उनले नेपालमा उद्यमशीलताका लागि वातावरण नभएको टिप्पणी गरे।
कम्पनी दर्ता गर्न र बन्द गर्नेसमेत झन्झट भएपछि उद्यमशीलताको विकास संभव नभएको उनको भनाई छ । झाले भने,‘कम्पनी खोल्न र बन्द गर्न कर्मचारीको अनुहार हेर्नु नपर्ने व्यवस्था गर्न, उद्योगी व्यवसायीलाई दलाल पुँजीवाद, नाफाखोर भनेर गाली गर्ने अवस्थाको अन्त्य नगरे सम्म उद्यमशीलताको विकास सम्भव छैन ।’ राज्यले ठेकदार नभई उद्यमशीलताको विकासका लागि सहजीकरणको भूमिका खेल्नुपर्ने उनले बताए ।
कार्यक्रममा युवा उद्यमी प्रतिक राउतले निजी क्षेत्रको योगदान नेपालको अर्थतन्त्रमा ७०–८० प्रतिशत रहेको भन्ने गरिए पनि संसदमा निजी क्षेत्रको हितका लागि कति समय छलफल हुन्छ भन्ने विषयमा चिन्तन गर्न आवश्यक रहेको बताए । ‘उद्यमशीलताको विकासका लागि, व्यवसायीक वातावरण तयार पार्नका लागि बोल्ने मात्रै नभई व्यवहारमा नै देखिनु पर्छ’ राउतले भने । कार्यक्रममा पुस्तकका अनुवादक निशान्त ढुङ्गानाले पुस्तकले उद्यमशीलताको ज्ञानसँगै उद्यमी बन्न प्रेरित गर्ने बताए ।
