समाचार

काठमाडौँ ।
कवि उमेश अकिञ्चनको तेस्रो कृति ‘सायद किनाराहरू’को काठमाडौंमा लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कविहरू श्रवण मुकारुङ र विमला तुम्खेवाले कृतिमाथि आफ्नो धारणा राखेका थिए । कृति रक्षामन्त्री मानवीर राई, श्रवण मुकारुङ, विमला तुम्खेवा रमेश क्षिजित, समीक्षक राजकुमार बानियाँ र अभिनेता जीवन लुईंटेलले कवितासंग्रह विमोचन गरेका थिए ।
कार्यक्रममा विमला तुम्खेवाले कविको व्यक्तित्वमाथी प्रकाश पार्दै कृतिमा अन्तर हृदयबाट लेखिएका कविताहरू समाविष्ट भएको बताइन् । कविताहरू अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको उनको भनाइ थियो । कविले कृतिमा आफ्नो समयको विश्व परिवेश लेखेको उनले बताइन् । सुन्दर कविता लेख्नु साच्चै गाह्रो काम भएको तर अन्तस्करणबाट लेख्न सक्नुलाई उनले कविको सफलता भनिन् ।
कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको कार्यक्रमका अर्का वत्ता श्रवण मुकारुङले भने । ‘कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो । अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन् ।’ मुकारुङले भने । कविले आफ्ना कवितामा निजी लय निर्माण गरेको अनि लय समात्न नसक्ने पाठकले यसलाई नबुझ्न पनि सक्ने उनले बताए । तुम्खेवाले अकिञ्चनका कवितालाई कोमल भने पनि मुकारुङले ती त्यत्ती कोमल कविता लागेनन् । ‘खस्रै’ पाए । तर ‘सायद किनाराहरू’का कविताहरू दोषरहित भएको अनि कृतिभित्र हृदयलाई सधैं मग्न बनाउने खालका कविता भएको उनले बताए ।
कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने मन्त्री मानवीर राईले बताए । देशलाई सहि दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान रहेको र कवि र कविताले नै समाजलाई सही दिशा प्रदान गर्न र सहयोग गर्न सक्ने धारणा उनले राखे । राजनीतिमा नलागेको भए आफू कवि नभएपनि लोकदोहोरी गायक बन्थे कि भनेर उनले सुनाए । । ‘कविहरू आफू मात्रै नभइ समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन्,’ उनले भने ।
कार्यक्रममा अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ बाट कविहरू डा. स्मिता श्रेष्ठ र रिमा केसीले एक–एकवटा कविता पनि वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ ।