• २०८२ भाद्र २७, शुक्रबार

चेतन काफ्लेको दुई लघुकथा

चेतन काफ्ले

चेतन काफ्ले

पहिलो खण्ड:

बिर बहादुरको टारी खेतमा सांझसम्म न पानी थियो । न खनजोत भएको थियो । न कुनै चहल पहल नै थियो । बिहान उठ्दा सबै खेत रोपाई सकेर समाबाट पानी झरिरहेका थिए । यो चर्तिकला देखेर गाउले अचम्ममा परेका थिए । हैन यो कसरी सम्भब भयो ? रात भरमै सबै काम तमाम ? गाउलेको कानेखुसी एक कान, दुई कान, हुदै मैदान भैसकेको थियो ।

लगत्तै बिर बहादुरको नाममा अर्को गाईगुई पनि चल्न थाल्यो । बिर बहादुर त विर खेल्छ रे । मध्यराती मसान घाटबाट गाडेको मुर्दा निकालेर मन्त्रले फुकदै बकाएर आफ्नो नियन्त्रणमा लिन्छरे । र तिनै बिर मसानलाई राती राती काम लगाउदछ रे ।
हजुर आमाबाट सरी आएको दन्य कथाको अन्त्य ।

दोश्रो खण्ड:

कम्प्युटर अपरेटिङ रुम भित्र छिरेर वाङले सिसि क्यामारा तिर आंखा दौडायो ।
एक, दुई, तिन, चार, पांच, ……।
सिसि क्यामारा नं. एकमा खेतमा रोपाइको काम चलिरहेको छ । सबै आ आफ्ना डिउटीमा खटिरहेका छन् । उस्ले मार्क ग–यो, ४९ र ५० हिलो छ्यापा छ्याप गरेर जिस्कदै छन् ।
दोश्रो क्यामारामा आखा दौडायोः गाई फार्ममा गाईको गोबर फाल्ने र गाईलाई नुहाइदिने सफाईको कार्य भैरहेको छ । सब ठीक ठाक छ ।
तेश्रो क्यामारा तर्फ मोडियोः घांस,परालका भारी बोकेर फार्म तिर आइरहेका छन् । कुनै समस्या छैन ।
चौथो क्यामारामा हांस कुखुलालाई चारा हाल्दै जतन संग अण्डा बटुल्दै गरेको दृश्य देखियो । सब स्मुथ्ली चलिरहेको छ ।
जब पांचौ क्यामारामा वाङको आंखा पुग्यो । हड्बडाएर जुरुक्क् उठ्यो र आफ्रनै टाउकोमा थप्पड लगायो । हैन यो के भैरहेको छ ? खाना बोकेर सर्भ गर्न जांदा लडेर खाना सबै भुईभरी पोखिएको दृश्यले उ अचम्मित भयो । उस्ले तुरुन्त भित्तामा टासिएको ठूलो स्क्रीनमा टच ग–यो र कन्ट्रोल कन्ट्रोल शब्द उच्चारण ग–यो । कन्ट्रोल रुमबाट समस्याको समाधान भैसकेको खबर पल भरमै प्राप्त ग–यो ।
हिजो बेलुका भारी वर्षाको कारण पानीले डुबेकोले १०१ को चिप्समा केही खराबी आएको र दाहिने तर्फ प्यारालाइज भएको भन्ने शब्दहरु स्क्रीनमा देखापरे ।
विमा लेखमा उल्लेख भए अनुसार विमा दाबीको बिल संप्रेषण गरेको केही मिनटमै उस्को खातामा रकम जम्मा भएको जानकारी प्राप्त भयोे ।
के मेरो दत्य कथामा पनि रोबोट थिए ?


चेतन काफ्ले