समाचार

काठमाडौँ ।
२१२ औँ भानु जयन्तीको अवसरमा असार २९ गते विश्व शान्ति तथा एकीकृत परिवार संघले काठमाडौँस्थित केन्द्रीय कार्यालयमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भिष्म उप्रेती रहनु भएको थियो भने सभापतित्व संघका दक्षिण एसिया निर्देशक कृष्ण अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी, रञ्जना निरौला, कृष्ण बाउसे, भोज कुमार धमाला, रमि प्रिया, सुबास सिंह पराजुली, उजाला कपालीलगायत १८ जना कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । केही कविहरूका ओजपूर्ण रचना प्रस्तुतिले कार्यक्रममा थप उत्साह र वातावरणलाई ऊर्जावान बनाएको थियो ।
सोही अवसरमा कवि रुपसिंह भण्डारीको संयोजकत्वमा ‘शान्ति साहित्य सभा’ नामक नयाँ साहित्यिक संस्थाको पनि उद्घाटन गरिएको छ। संस्थाले प्रत्येक वर्ष उत्कृष्ट एक जना कविलाई रु एक लाख एक रुपैयाँ राशिको शान्ति साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
प्रमुख अतिथि भिष्म उप्रेतीले भानुभक्त आचार्यप्रतिको सम्मान व्यक्त गर्दै उहाँको नेपाली साहित्यमा अतुलनीय योगदानलाई नेपाली समाजले सदैव स्मरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भानुभक्तको साहित्यिक साधनाले नेपाली भाषालाई मात्रै होइन, नेपाली समाजको सांस्कृतिक र एकता भावनालाई समेत बलियो बनाएको उल्लेख गर्नुभयो। कार्यक्रममा एच.बी. खत्रीले स्वागत मन्तव्य दिनु भयो भने समाजसेवी विनोद डाँगीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमले साहित्य, संस्कृति र राष्ट्रिय एकताको सन्देश फैलाउँदै भानुभक्तको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको थियो ।