• २०८२ आश्विन २८, मंगलवार

अविरल गङ्गा साहित्य केन्द्रद्वारा साहित्यिक सप्तर्षिहरूलाई सम्मान

काठमाडौँ ।

अविरल गङ्गा साहित्य केन्द्रले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर नेपाली साहित्यका सात जना साधकहरूलाई साहित्यिक सप्तर्षि सम्मान समर्पण गरेको छ । केन्द्रका अध्यक्ष गङ्गा लिगलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले वाङ्मयसाधकहरू प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. वासुदेव त्रिपाठी, कविवर बैरागी काइँला, कविवर मुकुन्दशरण उपाध्याय, कवि मुक्तिनाथ शर्मा न्यौपाने, कवि पुरुषोत्तम सिग्देल तथा कवि हरिविक्रम के. सी. लाई सम्मान गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि उप्रेतीले साहित्यकार विजयध्वज थापालाई भानुमोती पुरस्कार २०८२ र समाजसेवीद्वय विनीता अर्याल (हाम्रो बालसंरक्षण धरोहर नेपाल) तथा श्रीनेहा पोखरेल (नेपाल स्नेही काख) लाई मिश्री स्मृति प्रतिभा पुरस्कार २०८२ बाट सम्मानित गर्नुभयो । प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै अग्रज स्रष्टाहरूलाई सम्मान गरेर केन्द्रले प्रशंसनीय कार्य सम्पन्न गरेको बताउनुभयो । त्यसैगरी समाजसेवामा लागेर अनाथ, अशक्त बालबालिका तथा मानिसहरूको शिक्षादीक्षा, औषधिउपचार, पालनपोषणको जिम्मेवारी बहन गर्नु स्तुत्य भएको कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रका सदस्य वीरबहादुर लोहनीले स्वागत कविता वाचन गर्नुभएको थियो भने प्रमुख सल्लाहकार डा. बमबहादुर थापा जितालीले संस्थाका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । त्यसैगरी कार्यक्रममा सम्मानितहरूका तर्फबाट प्रा. डा. चूडामणि बन्धुले गङ्गा लिगलको साहित्यिक क्रियाशीलताबारे चर्चा गर्दै यसरी सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्नुभयो ।

साहित्यकार यादव भट्टराईद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा कवि टेकबहादुर लौडारीद्वारा शुभकामना कविता वाचन गरिएको थियो भने केन्द्रका उपाध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीले सम्मानित तथा पुरस्कृत महानुभावहरूको परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत प्रतिभाहरू विजयध्वज थापा, विनीता अर्यालले समेत आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभापति तथा केन्द्रका अध्यक्ष गङ्गा लिगलले ऋषितुल्य अग्रज स्रष्टा तथा समाजसेवीहरूलाई सम्मान गर्न पाएर आफू अत्यन्तै हर्षित भएको बताउनुभयो ।


अनाम पीड़ा

दीक्षा