• २०८२ आश्विन ७, मंगलवार

घरभित्रको काम

ईश्वर पोखरेल

ईश्वर पोखरेल

तलको जार माथि लगिदिएको, बबन्डर नै होला जस्तो पो भयो ।
खास कुरा के भने, मर्निङवाकबाट फर्किएको थिएँ; गेट नेर पानीको जार देखें । त्यही जार माथि किचेनमा लगिदिएको मैले ।
शिवालाई अकासै खसे झै भई त गयो !
सधै शिवा नै लैजान्थी ।
अस्तिका दिन जार उचाल्न नसकेर भरयाङ्गमा लडी छे ।
‘तिमी सक्दिनौ ।’ मैले भनें ।
‘जोरीपारी हाँस्छन्; लोग्नेलाई खुबै सताउँछे पनि भन्छन् ।’ शिवाले फेरि भनी ।
‘यो मैले सक्ने काम हो; बरु तिमीले चै नसक्ने काम ! तिमीले नसक्ने काम हो भन्ने त अस्ति प्रमाणित नै भयो नि ।’ मैले भनें । र, फेरि थपें- अरुको टिका टिप्पणीलाई मूल्य दिएर सकिन्छ त !’
‘तपाई झन् सक्नु हुन्न । म त बानी परेकी मान्छे । शिवाले प्रति उत्तर लगाई । र, फेरि थपी- ‘तपाईलाई अरुले जोइटिङ्ग्रे भनेको म सहन सक्छु !’
‘आफूले सकेको घरको काम गरेर जोइटिङ्ग्रे कहलाउन म राजी नै छु त, शिवा !’ मैले भनें ।
‘कस्तो जित्नुपर्ने बानी !’ शिवा ठुस्किए झै देखिई ।
‘घरभित्रको काममा यो कस्तो खिचातानी !’ शिवालाई हँसाउने उम्मीदका साथ मैले हाँस्दै तुक मिलाएँ ।
शिवाले परम्परा, जोरीपारीको समझ, पितृसत्ता आदिमध्ये के मा चोट पुग्ने ठानी कुन्नि; ऊ हाँसिन ।


ईश्वर पोखरेल