अन्तरवार्ता

काठमाडौँ ।
प्राध्यापक डा. दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेखसंग्रह ‘यसरी बुझ्दा’ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ शनिबार सिक्किमको तादोङमा सार्वजनिक गरिएको हो । ‘यसरी बुझ्दा’ मा सनातन संस्कृति, चाडपर्व, रीतिथिति, जनजाति धर्मअन्तर्गत मष्टो, मन्धुम, बोनमाथि लेखिएका शोधमूलक ४१ वटा सामग्री संकलन गरिएका छन् ।
लेखक प्रधानले सनातन संस्कृतिले चिनाएको विश्व बुझ्न खोज्दा आफूले संकलन गरेको जानकारी र सूचनालाई ग्रन्थका रूपमा परिणत गरेर प्रकाशन गरेको बताए । उनले भने, ‘प्रस्तुत पुस्तक जिज्ञासु विद्यार्थीको संसर्ग र समयोचित प्रश्नहरूको उत्तर खोज्ने, पर्गेल्ने र त्यसलाई बुझ्ने अकिञ्चन प्रयास हो ।’ ग्रन्थले सबैको प्रश्नलाई शमन गर्न नसके पनि सूचना प्रदान गर्ने प्रचेष्टा रहेको प्रा. डा. प्रधानको भनाइ छ । समारोहमा ग्रन्थका भूमिकाकार तथा सिक्किम विश्वविद्यालयका प्रा. डा. बलराम पाण्डे र नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका डा. टेकबहादुर छेत्रीले ग्रन्थको विशेषता, महत्त्व र उपयोगिताबारे प्रकाश पारेका थिए ।
डा. पाण्डेले स्थापित र जनजातीय धर्मसंस्कृतिबारे लेखिएको निबन्धहरूमा गोर्खा जातिको मौलिकता विमर्श गरिएको हुनाले प्रत्येक नागरिकको घरमा यो पुस्तक पुग्नुपर्ने बताए। डा. छेत्रीले सूचना र संज्ञान प्रसारित गर्नमा यस पुस्तकले महत् भूमिका निर्वाह गरेको बोध गराउँदै मनाएर मक्ख पर्नु मात्र नभई लेखेर लब्ध पनि हुनुपर्ने अनि जनाएर जण्ड हुनुपर्नेमा जोड दिए । प्रमुख अतिथिको सम्बोधनका क्रममा भाषाविद् डा .गोकुल सिन्हाले संस्कृतिका विविध पाटा रहेका र त्यसको एउटा पाटो चिनाउने लेखकको सत्प्रयास सराहनीय रहेको बताए । उनले भने, ‘हामीले बुझिल्याएका कुरालाई अझ परिष्कृत रूपमा पुस्तक प्रकाशित भई आउँदा नयाँ पिँढीलाई धेरै लाभ हुनेछ ।’
सभाध्यक्षको सम्बोधनमा राज के श्रेष्ठले भने, ‘हाम्रो अहोभाग्यले प्रोफेसर दिवाकर प्रधानजस्ता विद्वान्को संसर्ग पाएका छौँ । आगामी दिनमा उहाँबाट पथप्रदर्शक ग्रन्थहरू सृजित हुने अपेक्षा राखेका छौँ ।’ समारोहमा कवि प्रवीण खालिङ, परशु ढकाल, रञ्जना कार्कीले कविता वाचन गरेका थिए । लेखककी अर्धांगिनी दिवंगत निर्मला प्रधानको चौथो पुण्यतिथिका स्मरणमा आयोजित समारोहमा दिवंगताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रम थालनी भएको थियो । कृतिको प्रकाशन गान्तोकको जनपक्ष प्रकाशनले गरेको हो । डा. प्रधान काशी हिन्दू विश्वविद्यालयको कला संकायअन्तर्गत भारतीय भाषाका आचार्य र अध्यक्ष हुन् । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सनातन सभ्यताका विशेषज्ञ प्रधान भारतमा नेपाली भाषा शुद्धीकरण अभियानमा सक्रिय छन् ।