• २०८२ आश्विन २२, बुधबार

उदयानन्द स्मारक प्रतिष्ठानद्वारा डा. नेपाल र नियात्राकार रेग्मी पुरस्कृत

काठमाडौं ।

उदयानन्द स्मारक प्रतिष्ठानले उदयानन्द अर्यालको २७१ औँ जन्मजयन्तिको अवसरमा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई आदिमहाकवि उदयान्द पुरस्कारबाट र नियात्राकार गीता रेग्मीलाई रामेश्वर– इन्द्रछायादेवी प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई र सभाध्यक्ष डा. प्रकाशप्रसाद अर्यालले सम्मानित स्रष्टाहरू डा. नेपाल र रेग्मीलाई नगद रु. २५ हजारसहित सम्मानित गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले आदि महाकवि भए पनि अर्यालको प्रचार प्रसार हुननसकेकोले उनलाई अब प्रचार प्रसारमा ल्याउन उनका बारेमा निरन्तर गोष्ठी, सेमिनार र विमर्श चलाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति डा. अर्यालले कुलको इज्जत र पूर्वजको सम्मानको लागि परिवारको सरसल्लाहबाट संस्था स्थापना गरेर कार्यक्रमहरू गर्दै आइरहेका छौँ, भन्नुभयो ।

सम्मानित स्रष्टा डा. नेपालले साथीभाइ, अग्रज र शुभेच्छुकहरूको माया, ममता र आशीर्वादले मेरा पिताजीले केही वर्षअघि प्राप्त गर्नुभएको पुरस्कार आज मैले प्राप्त गरेँ, यो मेरोलागि धेरै खुशीको कुरा हो, भन्नुभयो । सम्मानित स्रष्टा रेग्मीले यो पुरस्कारबाट आफूमा अझ जिम्मेवारी थपिएको बताउनुभयो । उपप्राध्यापक अनुपमा रेग्मीले सम्मानित स्रष्टाहरूको बारेमा परिचय दिनुभएको थियो । कार्यक्रममा प्राज्ञ विष्णु प्रभात र डा. केदार न्यौपानेले उपस्थित अतिथिहरूमा स्वागत र धन्यवाद मन्तव्य राख्नुभएको थियो ।