• २०८२ आश्विन ८, बुधबार

पिता–पुत्रको कवितासङ्ग्रह ’वंशवृक्ष’ सार्वजनिक

काठमाडौँ ।

कविताकृति ‘वंशवृक्ष’ एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल रहेका थिए भने अन्य आमन्त्रित व्यक्तित्वहरूमा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, प्रा. विष्णु केसी, कलानाथ दाहाल, खेमनाथ दाहाल, कृष्णप्रसाद भट्टराई, गणेशराज पोखरेल,शान्ता दाहाल तथा साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला रहेका थिए । मञ्चासिन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा पुस्तकको लोकार्पण गरिएको हो ।

पिता तथा पुत्रको यो संयुक्त कवितासङ्ग्रह हो । ११५ पृष्ठ रहेको पुस्तकमा ३० थान थान कविताले ९१ पृष्ठ ओगटेको छ । ’क’ खण्डमा पिता पुरुषोत्तम दाहालका १७ थान कविता छन् भने खण्ड’ख’मा पुत्र अनिमेष दाहालको १३ थान रहेका छन् । अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहे भने प्रा. पुरुषोत्तम दाहालले आफ्नो कृति रचना बारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा उनले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताए ।

कवि दाहालको यो पाँचौ कृति हो भने यसअघिका उपन्यास ’कालपात्र’ र ’कालो बादलमा उज्याला पाइला’ बारेमा समेत चर्चा भएको थियो । कवि पुरुषोत्तम दाहालले ’नलीहाड धुन’ भन्ने कविता पनि वाचन गरेका थिए । कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले पुस्तकको न्वारान आफूले गरिदिन पाएको र कवि दाहालद्वयले मन पराइदिनु भएकोमा आभार प्रकट गर्दै प्रकाशनको जिम्मेवारी लिन पाएकोमा धन्यवाद पनि ज्ञापन गरेका थिए।

कार्यक्रममा प्रा. विष्णु केसीले खण्ड’क’को प्रा. पुरुषोत्तम दाहालको १७ थान कविताको समीक्षात्मक टिप्पणी गरेका थिए । अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू मुखरित भएको बताए।साथै,उनले सङ्ग्रहबाट एउटा कविता पनि वाचन गरेका थिए । त्यसैगरी, अर्का समीक्षक खेमनाथ दाहालले खण्ड’ख’को कवि अनिमेष दाहालका १३ थान कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताए ।

कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट कृष्णप्रसाद भट्टराई र नन्दकृष्ण जोशीले एक एक वटा कविता वाचन गरेका थिए भने कलानिधि दाहाल, अश्विनी कोइराला, मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सङ्घको गतिविधिमाथि प्रकाश पार्दै कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे बोलेका थिए । साथै, उनले शुभकामना मन्तव्य सहित धन्यवाद समेत ज्ञापन गरेका थिए । गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान पनि गरिएको थियो । विनोद दाहाल वत्सले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण तथा सञ्चालन गणेश सुवेदीले गरेका थिए ।