समाचार

काठमाडौं ।
संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ की सर्जक तारादेवी सुनुवारले हिन्दू नारीहरूको पर्व तीजको अवसर पारेर नयाँ तीज गीत ‘रातो सारी’ सार्वजनिक गर्नुभएको छ । गीत सोमबार सार्वजनिक गरिएको हो ।
समाजमा बढ्दै गएको विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान र गाउँघरप्रति बढेको वितृष्णालाई चिरेर घर, परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने सन्देश गीतले बोकेको सर्जक सुनुवारले जानकारी दिनुभयो । गीतमा शब्द रचना र स्वर तारादेवी सुनुवारकै रहेको छ भने उनलाई स्वरमा कल्पना सुनुवारले साथ दिनुभएको छ ।
गीतमा संगीत तथा एरेञ्ज योगेश काजी शाहको रहेको छ भने भिडियोमा ममता मगरले मोडलिङ गर्नुभएको छ । गीतले पछिल्ला समय तीज पर्वमा देखिएको भड्किलोपनलाई चिर्दै पारिवारिक एकता र सामाजिक सन्देश प्रवाह गर्ने प्रयास गरेको बताइएको छ ।
तीज पर्वलाई आराध्यदेव भगवान शिवसँग जोडिने पर्वको रूपमा समेत हेरिन्छ । सार्वजनिक कार्यक्रममा गीतको विमोचन सर्जक तारादेवी सुनुवारकै परिवारकी ९० वर्षीया ज्येष्ठ नागरिक योशोदा पौडेलले गर्नुभएको हो ।