लघुकथा
								
							काठमाडौँ
युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को गृहविमोचन तथा विमर्श भएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाको अध्यक्षतामा भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा र वक्ताहरू शान्ता थापा र शम्भु अर्याल र कथाकार लक्ष्मण वियोगीले कृतिको लोकार्पण गरेका थिए । साहित्यिक अभियन्ता कवि मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व ढकालले बताए, ‘साहित्य कल्पना र यथार्थताको संयोजन हो । यो पक्ष सत्यमा पाइन्छ, उनले भने, वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको छ । ’युवा समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका विषयसमेत उनको कथामा झल्किने गरी उतारेको बताए । असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटन गर्नु सत्यम्को विशेषता रहेको उनको भनाइ थियो ।
पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर जस्ता विषयसमेत सत्यम् मा उठाएको छ । तथ्यपरक विषय गणित पढेका, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैंमा रोचक विषय भएको विवेचना गरेका थिए । समीक्षक तथा सामुदायिक रेडियो आँधीखोलाकी अध्यक्ष शान्ता थापाले सत्यम् मा स्याङ्जाको मौलिक संस्कृति समेटिएको बताइन् । उनले कृति पढ्दा धेरै पटक भावुक भएको पनि उनले बताइन् । त्यस्तै समीक्षक तथा युवा निबन्धकार शम्भु अर्यालले कृतिले नेपाली ग्रामीण समाज र परिवेशका अति सूक्ष्म विषय राम्रोसँग उधिनेको बताए । कथामा स्याङ्जाली भूगोलको मौलिकता अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको पनि उनले बताए ।
कथाकार वियोगीले कृति रचनाको पृष्ठभूमिका विषयमा बोलेका थिए । ‘म कथाकार वा लेखक बनूँला नबनूँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई सहयोग गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु । म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाए पुग्छ ।’ मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा भएको कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथा मार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताए । साहित्य क्षेत्रमा कथासँगै निबन्ध, नियात्रा, कविता तथा गीत लेखनमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथाकृति हो । समालोचकहरूद्वारा भनिए जस्तै प्रस्तुत कथाकृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्य तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली ग्रामीण समाजका अनेक पाटा उत्खनन् गरेका छन् ।
यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा तथाकथित जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मूच्र्छना र लोकसंस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरिएको थियो । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिर समेत डुल्न भ्याएका छन् । कथामा पर्यावरणीय चेत र वस्तुवादी धारसमेत पाइन्छ ।
सत्यम् को गृह विमोचन, विमर्श एवम् बृहत् सिर्जना वाचन समारोह २०८२ नाम दिइएको कार्यक्रममा संस्कार गैह्रे, खगेन्द्रजंग थापा, स्मारिका अर्याल, झवनाथ बस्याल, अग्निकुमार रेग्मी पल्लव, उपमा पाण्डेय, लोकहरि पाण्डेय क्षितिज, कृष्ण खड्का, चिन्तु गिरी, लेखनाथ काफ्ले, इन्द्रप्रसाद पाठक, तोरणराज बस्याल, विष्णु पङ्गेनी पाण्डे, सरस्वती अर्याल, सम्झना थापा मगर, लक्ष्मी काफ्ले, बोधराज न्यौपाने, खगेन्द्र अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भविश्वर पङ्गेनी, सीताराम अधिकारी, वसन्त खनाल, टीकाराम वाग्ले, कमला अधिकारी सिग्देल, तोलाकान्त बगाले, मिलन समीर लगायतका स्याङ्जाली सर्जकले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा ध्रुवबन्धु पौडेलले वाचित सिर्जनाहरूको समीक्षात्मक टिप्पणी गरेका थिए ।
दशकदेखि पत्रकारितामा क्रियाशील वियोगीसँग नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । उनी नेपालको पहिलो ऊर्जासम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’ को सम्पादक हुन् । साहित्य लेखनमा विशेष रुचि राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् ।
‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’ को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि प्रस्तुत सङ्ग्रहमा समेटिएको छ । उनका शब्द सिर्जनामा एक दर्जन जति आधुनिक तथा लोक आधुनिक गीतहरू रेकर्ड भएका छन् । पेज टर्नर प्रालिले प्रकाशन गरेको सत्यमको मूल्य ४५५ रुपैयाँ रहेको छ ।
