• २०८२ कार्तिक १९, बुधबार

निराज सिग्देलको गीतिएल्बम ‘निरासक्त’ लोकार्पण

काठमाडौँ ।

राष्ट्रिका साहित्य प्रतिष्ठानले गीतकार निराज सिग्देलको गीतिएल्बम ‘निरासक्त’ को लोकार्पण गरेको छ । जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा कानूनविद्, गीतकार एवं गायक डा. भीमार्जुन आचार्य, वरिष्ठ संगीतकार राजु सिंह, गायक स्वरूपराज आचार्य, कवि मुरारि सिग्देल लगायतले लोकार्पण गरेको छ । कार्यक्रममा डा. भीमार्जुन आचार्यले एल्बममा समावेश गीतहरूले एल्बमलाई सार्थक बनाएको बताए । उनले गायकी र संगीत दुवैको कम्बिनेशन संगीतकार विपिनमा भएको बताए । संगीतकारले गीतलाई न्याय गरेको भन्दै गीतका थीम उपल्लो स्तरको भएकोमा जोड दिए ।

त्यस्तै अर्का वक्ता राजुसिंहले निरासक्तका सबै टीमको कार्य मिहेनतपूर्वक गरिएको हुँदा एल्बम उत्कृष्ट भएको बताए । संगीतकार विपिन घिमिरेले एल्बम कसरी आयो भन्नेबारे बताए । गीतकार निराज सिग्देलले २०४४ सालदेखि गीत लेख्न थालेको बताउँदै असहज व्यक्तिहरूका लागि गीत लेखेको र राष्ट्रियताप्रति संवेदनशील भएकोले राष्ट्रिय गीत लेखेको बताए । देशको परिस्थितिले दुखी भएर मन नपरेको कुराप्रति गीत लेख्ने आफ्नो प्रयास रहेको उनले जानकारी दिए । आफू सिद्धहस्त भएर नभै रहरले गीत लेखेको पनि उनले बताए । गायक स्वरुपराज आचार्यले सिकाइमा उमेर र योग्यता नचाहिने भन्दै संगीत संगतबाट प्राप्त हुने कुरा भएको बताए । उनले भने, ‘म संगीतमा धैर्य आवश्यक ठान्छु । यो धैर्य विपिन घिमिरेमा छ ।‘

उनी पिता भजन शिरोमणि भक्तराज आचार्यको स्मरणमा भावुक पनि भएका थिए । गीतमाथि मुरारि सिग्देलले समीक्षा गरे । पृथक् संगीत र उचित शब्द चयनले गीत श्रवणीय भएको बताउँदै उनले गीतकारलाई अझै सशक्त गीत सिर्जना गर्न आग्रह गरे । सञ्चारकर्मी एवम् गीतकार लोकराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल संगीकार संघका अध्यक्ष अष्ट लामाले शुभकामना मन्तव्य दिंदै स्रष्टाको अधिकारको लागि अझै लड्नुपर्ने परिस्थिति रहेको बताए । कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, नियात्राकार प्रदीप सापकोटा, अभिनेत्री शारदादेवी सिलवाल लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रमका सभाध्यक्ष एवं राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ऋषभदेव घिमिरेले कविताको शैलीमा स्रष्टा सर्जक र सिर्जना सगरमाथाभन्दा उच्च हुने भनाइ राखे । कार्यक्रममा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रव्यदृश्य सामग्री देखाइएको थियो । लोकराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई आयोजकको तर्फबाट अध्यक्ष घिमिरेले मायाको चिनो प्रदान गरेका थिए । सार्वजनिक भएको गीतिसङ्ग्रहमा ६ गीत समावेश छन् । जसमा आचार्य, ढकालसँगै शीला विष्ट अलि र विपिन घिमिरेको स्वर रहेको छ ।


उस मुक़ाम पर

दसैँ

परिचित