कविता

काठमाडौँ ।
पूर्वप्रशासक पद्मप्रसाद पोखरेलको आत्मवृत्तान्त ‘खण्डखण्डमा जिन्दगीस् जिज्ञासा र अनुभवको इतिवृत्त’ सार्वजनिक भएको छ । पूर्वराष्ट्रपति रामवरण यादवले पोखरेलको आत्मवृत्तान्त शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।
गृह र रक्षासहित विभिन्न मन्त्रालयको सचिवसमेत भएर काम गरेका पूर्वप्रशासक पोखरेलले आफ्नो सेवा अविधका क्रममा देखे-भोगेका अनुभूति र विषयहरूलाई पुस्तकमार्फत बाहिर ल्याएका हुन् । भुँडीपुराण प्रकाशनले ल्याएको उक्त आत्मवृत्तान्तमा पोखरेलले आफ्नो २५ वर्षे सरकारी सेवामा रहँदा देशको राजनीति, प्रशासन, सुरक्षा, अन्तर्राष्ट्रिय परिस्थिति र देशभित्रै देखापरेका आन्तरिक कलहका विषयलाई पुस्तकमा समेटेका छन् ।
पुस्तकमा उनले राजतन्त्रकालीन व्यवस्था र अहिलेको संघीय शासन प्रणालीलाई समेत समेटेका छन् । पोखरेलले नेपालले संघीय शासन प्रणाली धान्न नसक्ने टिप्पणीदेखि विगतमा राजतन्त्रका पालमा भएका ‘विसंगति’ समेत आत्मवृत्तान्तमा समावेश गरेका छन् । ‘निजामती प्रशासन कस्तो हुनुपर्छ ?’, ‘नागरिकतास् विधेयक खारेज, समस्या उस्तै’, ‘दासढुंगा प्रकरणस् दुर्घटना कि षड्यन्त्र ?’, ‘भूमिसुधारले बिराएको बाटो’, ‘सुराकीले कसरी काम गर्छ ?’ जस्ता विषयमा आफ्ना अनुभव र विश्लेषण पुस्तकमा राखेका छन् ।
‘२०४६ फागुन ७ मा सुरू भएको पञ्चायतविरोधी आन्दोलनले उग्र रूप नलेओस् भनेर जिल्लामा निषेधाज्ञा लगाइयो, संघर्ष समितिले फागुन ७ गते आन्दोलन गर्ने निर्णय गरेकाले त्यहाँका मुख्यमुख्य मान्छेहरूलाई पक्रनुपर्ने थियो,’ त्यो बेला कपिलवस्तुको सीडीओका रूपमा कार्यरत छँदाको अनुभवबारे पोखरलले पुस्तकमा भनेका छन् ‘यस्तैमा बीपी कोइरालाको ससुराली गाउँका कमलेश शर्मासँग मेरो भेट भयो । उनी पक्रनुपर्ने व्यक्तिमा पर्दा रहेछन् । मैले त उनलाई केही भनिनँ, प्रहरीलाई खबर गरेर पक्रन लगाएँ, ल्याएर सम्मानसाथ राख्यौँ ।’
४३५ पृष्ठको पुस्तकमा उनले बाल्यकाल र स्कुले शिक्षा, उच्च शिक्षा र जागिरे जीवन, देश–विदेशका अनुभव र घरपरिवारका कुरा पनि बताएका छन् । यसको लेखन डा. बालचन्द्र मिश्रले गरेका हुन् भने पारसप्रकाश नेपालले पुस्तक सम्पादन गरेका हुन् ।