• २०८२ असार ३१ मङ्गलबार

सपनाका रातहरू

घरी जिस्क्याउँछन्
घरी अनायास सम्झाउँछन्
घरीघरी पिरोलिरहन्छन्
सपनाका रातहरू !

अनन्त आकाशमा मुक्त चरा जस्तै
वेलगाम उडदै,उडदै
अन्तरीक्षको सिमा छुन
बादलको घरभित्र
आकाशपरीसँग घरजमको
योजना बनाइछन् सपनाहरू
सपनाको संगालोमा बित्छन्
सपनाका रातहरू !!

ओखलकी दिदी आउलिन
खाजा ल्याउलिन
काकाकुलमा रहेको जिन्दगी
आकाशगङ्गा र समुद्री खेतीको
सपना बुन्छ
हरेक नदीमा जलयात्राको जहाज बहाउछ
मंगलग्रह,चन्द्रमा
टेङ्करमा पानी लगेर खेतीपाती गरेको
सपना देख्छ !!!

अब गैरीखेतमा धान फलाउनु पर्दैन
आरुकुडामा आरुबखाडाको काम छैन
तिमुलपाखाका तिमुला
मेलखर्कका मेल
तरुलगाउँका तरुल
आमगौडाका आपको पनि
काम छैन
सपनाका रातले
उन्नतिको शिखर चुमिसकेको छ
समृद्धिको योजना बनाइदैछन
सपनाका रातहरू !!

थकित जीउ
क्लान्त मन
ओइलाएको आभा
हराएको कान्ति
हतास मानसिकता
क्षुब्ध बिचार
सृजना गर्छन
सपनाका रातहरू !!!

बिपना झै लाग्ने
घटना प्रतिघटनाको जोड
एक रातको होइन
सधै त्यहि पुरावृत हो कि जस्तो
बेला बखत
मानसपटलमा आउछन्
सपनाका रातहरू !

निद्राका तीन अवस्था
जागृत, सुषुप्त र स्वप्न
तीनै अवस्थामा चेतन र अवचेतन
परिवर्तन हुने परिदृश्य
ब्यस्त रहन्छन्
सपनाका रातहरू !

सपनामा खोले खाउन वा मासु भात
दरबारमा बसुन वा झुपडीमा
एक रातका सपना हुन वा हरेक
सपना आखिर सपना नै हुन
नत इतिहास छ
नत दस्तावेज बन्छ
नत कुनै सिमामा बाधिन्छन्
असीमित सपना बुन्दै बित्छन्
सपनाका रातहरू !!


कैलासकुमार पाण्डेय
परशुराम ३ थपला, डडेल्धुरा