समाचार

काठमाडौँ ।
कालिकास्थानमा रहेको नेपालय आरशालामा ‘मो यानको’ अनुवाद पुस्तक सार्वजनिक गरिएको छ । साहित्यकार कुमार नगरकोटीले ‘मो यानलाई, सेलिब्रेट गरेका थिए । आफ्ना दुई नयाँ कविता सुनाइसकेपछि उनले ‘मो यानको’ अनुवाद पुस्तक लोकार्पण गर्दै पुस्तकको आत्मकथा सुनाएका थिए ।
‘कोरियन, ह्वेलु, बुल्गेरियन, टाइम शेल्टर, आइरिस, प्रोफेट सङ, जर्मन, काइरोस तथा जापानिज ब्रेस्ट्स एन्ड एग्सु जस्ता किताबहरूले मो यानको लेखन शिल्प, लोक कथात्मक शैली एवम् म्याजिकल इम्याजिनेसनको मुक्तकण्ठले प्रशंसा गरे, नगरकोटीले आफ्नो लिखित मन्तव्य वाचन गर्दै भने, यो किताबको लेखक नोबेल लरेट मो यान हो । आजकाल नगरकोटी यसैको फ्यान हो ।
मो यानलाई नोबेल पुरस्कार प्रदान गर्ने क्रममा नोबेल कमिटीले भनेको छ, ‘मो यान’ जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन् । पब्लिकेसन नेपालयको प्रचलन अनुसार हलमा उपस्थितमध्ये कुनै एकलाई पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिन्छ । यही सिलसिलामा अनुवादक सर्वोतम श्रेष्ठले अग्रज साहित्यकार भुवन ढुंगानाको नाम लिए । यसरी वक्ता कुमार नगरकोटी, साहित्यकार भुवन ढुंगाना र अनुवादक सर्वोतम श्रेष्ठले पुस्तक लोकार्पण गरे ।
मो यान स्वयंले अनुवादक सर्वोत्तम श्रेष्ठलाई नेपाली अनुवादका लागि आफ्ना कथा र उपन्यासिका छानेर दिएका थिए । चीनमा चिकित्सा शिक्षा पढ्दा अनुवादक सर्वोतम श्रेष्ठलाई चिनियाँ भाषा र साहित्यको रस पस्दै गयो । फलतः श्रेष्ठले चिनियाँ भाषाबाट छ वटा पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन् । मो यानका रचना विभिन्न भाषामा अनुवाद भइसके पनि नेपालीमा आएका थिएनन्, त्यसैले मैले नेपालीमा अनुवाद गरेँ, अनुवादक श्रेष्ठले भने, चिनियाँ ग्रामीण जीवनका सुख- दुःख धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छन्, ती घटनामा लेखकको कल्पनाशीलताले गर्दा कथा जीवन्त बनेका छन् ।
करेसाबारीमा उब्जिएको तरकारीले मात्र हाम्रो आवश्यकता र स्वाद पूर्ति गर्दैन, हामीले बाहिरबाट किनेर ल्याएर पनि तरकारी खानुपर्छ । त्यस्तै संसारभरको राम्रो साहित्य, संगीत, दर्शन आदानप्रदान हुनुपर्छ भन्दै पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, यही वर्ष हामीले भारतीय लेखक फणीश्वरनाथ रेणुको अनूदित पुस्तक ‘सात सालको कथा’ प्रकाशन गरयौँ भने अहिले चिनियाँ लेखक मो यानको अनुवाद आख्यान प्रकाशन गरयौँ ।
आज लोकार्पण गरिएको पुस्तकमा मो यानका १७ कथा र २ उपन्यासिका सहित १९ आख्यान छन् । ३ सय १९ पृष्ठको पुस्तकको मूल्य ६ सय ७५ रूपैयाँ रहेको छ । पुस्तक शनिबारदेखि नै देशभरका पुस्तक पसलबाट किन्न सकिन्छ । साथै विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डट कमबाट भौतिक तथा ईबुक पनि किन्न सकिनेछ ।