समाचार
खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको सो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे। शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए ।
बुकहिलले प्रकाशन गरेको पुस्तकमा नेपाली फुटबलको सुरुवाती समयसहित नेपालले सागमा दुईपटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ । नेपाली फुटबलको इतिहासमा नेपालले जितेका ती दुई महत्त्वपूर्ण उपाधि हुन् ।
नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भए पनि अहिलेसम्म यसको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक बज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन ।
