• २०८२ मंसिर ८, सोमबार

पौडेलको कथासङ्ग्रह ‘ब्लफर्स डायरी’ क्यानाडामा विमोचन

क्यानाडाको ब्लफर्स बीच पार्कमा दिलीप पौडेलको कथासङ्ग्रह ‘ब्लफर्स डायरी’ विमोचन भएको छ । डा. पुण्यसागर मरहठ्ठा, डा. खेम गुरागाई , डा. पुष्पराज आचार्य, श्रीमती पारु पाण्डे, श्री मोहन खरेल र लेखक दिलीप पौडेलले सामूहिक रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

नेपाली साहित्य समाज क्यानाडाले आयोजना गरेको कार्यक्रमको संयोजन संस्थाकी महासचिव पारु पाण्डेले गर्नुभएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष मोहन खरेलले गर्नुभएको थियो । पुस्तकको विषयमा बोल्दै डा. पुण्यसागर मरहठ्ठाले भन्नुभयो, ”कथाकारले हरेक पात्रलाई न्याय गरेका छन्। बिम्बहरूको प्रयोग बेजोड छ। किताब लिएर बसेपछि कथा आफैंले पाठकलाई बाग्लुङको सेरोफेरो देखि लेक ओन्टारियोको छेउछाउसम्म लिएर जाने सामथ्र्य राख्छ।” उहाँले ‘बुढो प्याट्रिक’ कथाले आफूलाई झस्काएको बताउँदै लेखकले अवकाशोत्तर जीवनलाई सशक्त रूपमा चित्रण गरेको प्रशंसा गर्नुभयो ।

यसैगरी, डा. खेम गुरुङले पुस्तकको गहन विश्लेषण गर्दै कोरोनाको विध्वंस, माओवादी द्वन्द्वको प्रभाव, र आप्रवासीहरूका संघर्षलाई यथार्थवादी ढंगमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँले केही प्रसंगहरूमा जातिय भेदभावको उल्लेख गर्न लेखकले टाढा रहे तापनि पात्रहरू आफैं त्यसरी उभिएको उल्लेख गर्नुभयो ।

लेखक दिलीप पौडेलले आफ्नो कृति जन्मेको ठाउँमै यसको विमोचन हुँदा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कृतिको जन्मसँगै लेखकको मृत्यु हुन्छ। ‘ब्लफर्स डायरी’ का कथाहरू अब पाठकको सम्पत्ति हुन्। धेरै कथाहरू मेरो वास्तविक जीवनका घटनासँग सम्बन्धित छन्, तर अब तिनलाई कसरी व्याख्या गर्ने भन्ने पाठकको अधिकार हो ।” कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहन खरेलले उपस्थित सबैलाई धन्यवाद दिँनुभयो र आगामी दिनहरूमा नेपाली साहित्य समाजले रचनाकारहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो ।