• २०८२ कार्तिक १४, शुक्रबार

पोखरामा उषा शेरचनको मुक्तकसंग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

पोखरा ।

नेपाली साहित्यकी हस्ती, साहित्यकार उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ को पोखरामा लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उषा शेरचनका दामली साथीहरू सरुभक्त, तीर्थ श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । उक्त पुस्तकको लोकार्पण सामूहिक रूपमा उहाँहरूकै हातबाट सम्पन्न गरिएको थियो ।

२०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारसँगै साहित्यिक यात्रा आरम्भ गर्नुभएको उषा शेरचनले ४० वर्षअघि पोखरामा आयोजित ‘टिकटमा मुक्तक’ कार्यक्रममा आफ्ना सिर्जना वाचन गर्नुभएको मात्र थिएनन्, कार्यक्रमको आयोजनामा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । पोखरामा जन्मनुभएको तर विवाहपछि काठमाडौँमा बसोबास गर्दै आउनु भएको उषाले आफ्नो नवीनतम कृति ‘त्रासदीका हिमनदी’ को विमोचन आफ्नो जन्मस्थान तथा साहित्यिक यात्राको प्रारम्भस्थल पोखरालाई नै छान्नुभएको हो । उहाँले यो पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारलाई समर्पित गर्नुभएको छ । संग्रहमा चार सय ५० वटा मुक्तकहरू समावेश छन् । यसअघि २०५६ मा उहाँको ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तक संग्रह प्रकाशित भइसकेको छ ।

मुक्तकमा विद्यावारिधि गर्नुभएको समालोचक डा. मुरारी पराजुलीका अनुसार नेपालमा मुक्तक संग्रह प्रकाशित गर्ने महिला मुक्तककारमध्ये उषा शेरचन पहिलो हुनुहुन्छ । उहाँले उषाका मुक्तकमा जीवनका विविध आयामहरूको मार्मिक चित्रण रहेको बताउनुभयो । डा. पराजुलीका अनुसार उषाका मुक्तकमा सामाजिक जीवनका कष्ट, राजनीतिक व्यंग्य, शिष्ट प्रणयको भावुकता, युगीन जटिलता, युद्धको त्रासदी, मानव मूल्यको ह्रास, महिलामाथिको शोषण र त्यसप्रतिको विद्रोह जस्ता विषयहरू समेटिएका छन् ।

उषा शेरचनले यस पुस्तकसँगै आफ्नो मुक्तक लेखनको यात्रा समापन गरेको घोषणा समारोहमा गर्नुभएको छ । यद्यपि उहाँ अरु विधामा लेखन जारी राख्ने बताउँनुहुन्छ । उहाँका ‘नजन्मेका आस्थाहरू’ (फुटकर कविता), ‘अक्षरहरूको शिविरबाट’ (मुक्तक), ‘सर्वकालीन पीडा र जागृतिको शंखघोष’ (कविता), ‘तेस्रो रङ’ (कथा संग्रह), ‘बेग्लै म’ र ‘आँधी’ (उपन्यास) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।

विमोचन समारोहमा साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनाकालीन समय र उषाको साहित्यिक यात्राबारे स्मरणीय प्रसङ्गहरू प्रस्तुत गर्नुभएको थियो । उपन्यासकार सरस्वती प्रतीक्षा सहितका अन्य लेखक तथा साहित्यकारहरूले पनि आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केही कलाकारहरूले उषा शेरचनका मुक्तकहरू पनि वाचन गर्नुभएको थियो ।