अर्जिन्टिनी कविता

काठमाडौँ ।
चार पुस्ताद्वारा कवि सुमन थापा ‘सङ्गम’ को कवितासंग्रह ‘अभ्युदय’ को लोकार्पण गरिएको छ । कवि ‘सङ्गम’, कवि ‘सङ्गम’ का बाबु विष्णुविर थापा, कवि पुत्रीहरू (समिक्षा केसी, प्रशंसा केसी, कृशला केसी र कविका नातिनातिनीहरू (आरुन्या केसी, आयान्स केसी र आभ्याना केसी चार पुस्ताले एकै साथ कवितासंग्रहको लोकार्पण गरेका हुन् । काठमाडौंको ग्रीन लिफ क्याफेमा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन कवि आफैंले गरेकी थिइन् भने समिक्षा केसीले स्वागत मन्तव्य दिएकी थिइन् ।
कविहरूले अभ्युदयबाट केही कविता वाचन गरेका थिए। लोकार्पित कृतिबाट रमी प्रियाले ‘संघर्ष’, विश्व सिग्देलले ‘अजम्मरी फूल’, श्रीबाबु कार्कीले ‘घाम ओढेर हिंडेपछि’ र प्रोल्लास सिन्धुलीयले ‘हृदय दुखेको बखत’ कविता वाचन गरेका थिए । दुई दशकभन्दा लामो साहित्यिक यात्रामा सक्रिय थापाको यो संग्रह सामाजिक न्याय, मानवीय संवेदना र जीवनका तितामिठा पलहरुका अभिव्यक्तिमा केन्द्रित छ ।
यसले कार्यक्रममा आत्मीयता र भावनात्मकता थपिएको देखिन्थ्यो । लोकप्रिय समालोचक डा. शेखर श्रेष्ठले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए । उनले कवितामा विषय विविधता, निजात्मकता, काल्पनिकता, बिम्ब र प्रतीकको सुन्दर संयोजनको बाहुल्य रहेको बताए । त्यस्तै कवितामा आशानिराशा, नारी कुण्ठा, लैंगिक विभेद पनि समेटिएको उनले बताए । कार्यक्रमको समापनमा कवि सुमन थापाले ‘बालुवामा लेखिएको नाम’ र ‘बृहत् कथामा आमा’ दुई कविता वाचन गरेकी थिइन् ।