• २०८२ आश्विन ६, सोमबार

यो वर्षको ‘चिया कविता पुरस्कार’ साहित्यकार मन्दीप लामालाई

सिक्किम ।

साहित्यकार मन्दीप लामालाई यस वर्षको ‘चिया कविता पुरस्कार’ प्रदान गरिएको छ । विश्व चिया दिवसको अवसर पारेर बुधबार गान्तोकको जीवन थिङ मार्गस्थित रचना बुक्सको हलमा आयोजित एक समारोहमा उहाँलाई नगद ५० हजार रुपैयाँ, स्मृति चिन्ह र प्रशस्ति पत्र प्रदान गरिएको थियो । सन् २०२३ बाट सुरु भएको यो पुरस्कारले सिक्किमेली साहित्यमा लामाले र्पुयाएको अतुलनीय योगदानको कदर गरेको छ । सन् १९७०–८० को दशकदेखि नै सिक्किमेली नाट्य तथा संगीत क्षेत्रमा सक्रिय लामा आधुनिक प्रविधिको प्रयोग गरी नाटक प्रस्तुतीकरणमा अग्रणी भूमिका खेल्ने कलाकार हुनुहुन्छ । उहाँको प्रसिद्ध नाटक ‘रक्तिम रात’ सिक्किमेली रंगमञ्चको एउटा महत्वपूर्ण कोशेढुंगा मानिन्छ। सिक्किम क्रिएटिभ आट्र्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)का महासचिव समेत रहनुभएका लामाले ‘गीत अनि गीताङ्गे’ को प्रस्तुतिमा पनि उल्लेखनीय भूमिका खेल्नुभएको छन् ।

नाटकसँगै चलचित्र क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउनुभएका लामाले ‘अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस’ नामक पुस्तक लेख्नुभएको छ भने धेरै पुस्तकको अनुवाद पनि गर्नुभएको छ । एक कुशल संगीतकारको रूपमा पनि परिचित लामाको नाट्य, साहित्य, कला र संगीत क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर गर्दै चिया कविता पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् । पुरस्कार ग्रहण गर्दै लामाले ‘रक्तिम रात’ नाटक र यसको पृष्ठभूमिबारे आफ्नो धारणा राख्नुभएको थियो । चिया कविताका संयोजक कवि प्रवीण खालिङले सञ्चालन गर्नुभएको कार्यक्रममा गोपाल के। क्षेत्रीले चिया वार्ता अन्तर्गत चिया खेती र यसको सामाजिक-राजनीतिक पक्षबारे प्रकाश पार्नुभएको थियो । उहाँले दार्जिलिङमा चिया खेतीको वर्तमान अवस्था र त्यसबाट प्राप्त राजस्वको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल, भुटान र भारतका विभिन्न स्थानबाट आएका सर्जकहरूले आ-आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो । सिक्किम विश्वविद्यालयका सह-प्राध्यापक बलराम पाण्डेले नेपाली साहित्य र कविताको वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा डुप छिरिङ लेप्चा, ललित गुरुङ लगायतको उपस्थिति रहेको थियो ।