समाचार

काठमाडौँ
नियमित रूपमा अर्धवार्षिक प्रकाशन गरिँदै आएको स्रष्टा दर्पणको वर्ष १९, पूर्णाङ्क ३२ सार्वजनिक गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले स्रष्टा दर्पणको नयाँ अङ्क बिहिवार सार्वजनिक गरे ।
यसमा २४ जना विभिन्न कविका कविता, १० जना निबन्ध लेखकका निबन्ध, ७ वटा नियात्रा, कथा १, लघुकथा ३, नाटक १, गीत २, रचनागर्भ १, संस्मरण १, लेख ३ तथा ३ मुक्तककारका मुक्तकहरू समावेश गरिएका छन् । यसैगरी यसभित्र वरिष्ठ संस्कृतिविद् हरिराम जोशीको महत्वपूर्ण अन्तवार्ता राखिएको छ ।
नेपाल स्रष्टा समाजका नियमित गतिविधिहरूको संक्षिप्त जानकारी, समाजले प्रदान गर्ने पुरस्कारहरुको परिचय समेत समावेश छ । स्रष्टा दर्पणका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन हुन् । कार्यकारी सम्पादकको जिम्मेवारी डा. शान्तिमाया गिरीको रहेको छ ।