• २०८२ आश्विन २९, बुधबार

‘उदाहरणीय लाहुरे’ सार्वजनिक

काठमाडौँ ।

म्याग्दीको करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय समाजसेवी चामबहादुर पुनको जीवनीमा आधारित वृत्तचित्र निर्माण गरिएको छ । पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्र ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’ ले जन्मथलोको मुहार फेर्न प्रेरणा दिन्छ । लाहुरे चामबहादुरले आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको विकासमा र्पुयाएको योगदान अतुलनीय छ ।

काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा वृत्तचित्र प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए । उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे । मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यमा भएको प्रदर्शन कार्यक्रममा अन्सारीसहित वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक शेखर खरेल र चलचित्र निर्देशक रवि सायमिको योगदानको खुलेर प्रशंसा गरे ।

‘आफ्नो पहिचानको संरक्षण गर्दै समाजलाई उज्यालो बाटोमा हिंडाउन सफल चामबहादुर दाइको जीवनकथा प्रेरणादायी छ’,कार्यक्रममा अन्सारीले भनिन्, ‘जन्मथलोको विकासमा उहाँले गरेको सुकर्म वृत्तचित्रमा हेर्न पाउँदा मनमा ऊर्जा बढ्यो ।’ पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ । गाउँमा सांस्कृतिक एवं पर्यटकीय जागरण भित्रिएको छ । ‘एउटा सिंगो गन्तव्यको विकासमा एउटा व्यक्तिले र्पुयाएको योगदान प्रशंसनीय छ’,पर्यटन बोर्डका सिइओ जोशीले भने, ‘हामी करबाकेली इको ट्रेकको प्रवद्र्धनमा हातेमालो गर्नेछौं ।’

राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ । यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह-अवरोह र सुकर्म समेटिएको छ । पर्यटन पत्रकार भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी. पुन हुन्  । स्मरणीय छ, समाजसेवी पुन करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन् । उनकै नेतृत्वमा त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन् । त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रूपमा ब्रान्डिङ गरिएको छ ।

समाजसेवी पुनले जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा बिताए। त्यसपछि सेकेन्ड करियरका रूपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे । ब्रुनाईका फर्केपछि उनी जन्मथलोको विकासमा तन, मन र धनले समर्पित छन् ।