• २०८२ आश्विन २९, बुधबार

लीलाधर प्रतीकको ‘आँखाको नानी’ कृति विमोचित

तिलोत्तमा ।

मुक्तककार लीलाधर प्रतीकको नवीनतम मुक्तक संग्रह ‘आँखाको नानी’ एक समारोहबीच लोकार्पण भएको छ । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार वनमाली निराकार, भाषाविद् प्राध्यापक डा. मुरारी पराजुली, शिक्षाविद् गोविन्द ज्ञवाली, शिक्षाविद् दलबहादुर गुरुङ र स्वयं कृतिकार लीलाधर प्रतीकले संयुक्त रूपमा उक्त संग्रहको लोकार्पण गर्नुभएको थियो ।

न्यू होराईजन गौतम बुद्धको सभाहलमा सम्पन्न कार्यक्रममा शिक्षाविद् दलबहादुर गुरुङले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभयो । डा. मुरारी पराजुलीले मुक्तकलाई कविताको लघुत्तम आयाम भन्दै यसको बढ्दो प्रभावकारितालाई उल्लेख गर्नुभयो र प्रतीकको कृतिलाई शिखरमुखी रहेको बताउनुभयो । साहित्यकार वनमाली निराकारले प्रतीकका मुक्तकहरूले समसामयिक विषयवस्तु र वर्तमान असन्तुलित राजनीतिक परिवेशलाई मार्मिक ढङ्गले उजागर गरेको बताउँदै प्रशंसा गर्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष कविराज पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रलेस अध्यक्ष कृष्ण गाउँले, लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव पुरुषोत्तम पाण्डे, शंकर भण्डारी लगायतले मुक्तक वाचन गर्दै आ-आफ्ना विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले ‘आँखाको नानी’ लोकार्पणलाई साहित्य जगतको लागि महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभएको थियो ।