कविता

काठमाडौँ ।
नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ । पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले काठमाडौँमा कार्यक्रम आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा. डा. हेमाङ्गराज अधिकारी र प्रा. डा. दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरेकी हुन् । अधिकारी र घिमिरेलाई नगद २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ । मकवानपुर जिल्ला हेटौडाकी साहित्यकार मुना धिताल अर्याललाई कविताको सैलिमा शास्त्रीय छन्द प्रयोग गरि आत्म सलिल र महाकाश महाकाब्य लेखेर प्रकाशित गरि नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान पुर्याउनु भएकोमा कदर गर्दै पण्डित काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान, सम्मानपत्र तथा नगद रु १५ हजार पुरस्कार प्रदान गरेको छ ।
त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिक संस्कृत सम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरिन् । पुस्तक समीक्षा गर्दै प्रा. डा. रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताइन् । कार्यक्रममा दिइएको जानकारी अनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ ।