• २०८२ भाद्र २८, शनिबार

काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ ।

नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गरेका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ । पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले आज काठमाडौँमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा डा हेमाङ्गराज अधिकारी र प्रा. डा. दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरेका थिए । अधिकारी र घिमिरेलाई नगद रु २१ हजार,दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ । उनलाई नगद रु १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो । त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिक संस्कृत सम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरे । पुस्तक समीक्षा गर्दै प्राडा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताए ।

कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ ।