• २०८२ भाद्र २८, शनिबार

मुक्तिनाथ यात्रा

विवेक शर्मा गौतम

विवेक शर्मा गौतम

काठमाडौंबाट मुक्तिनाथ सम्मको यात्रा । मुक्तिनाथ पुग्न धेरै मान्छेले धेरै यात्रा विवरण लेखिसकेका होलान । मैले मेरो तर्फबाट लेख्ने जमर्को गर्दै छु । पहिलो चरणमा मेरो यात्रा काठमाडौं देखि पाल्पा सम्म मात्र । दोश्रो चरणमा हामी पाल्पा देखि मुक्तिनाथ सम्मको यात्रा गर्नु छ । यसैकर्ममा म काठमाडौंबाट रात्री बसमा चढें । काठमाडौंबाट पाल्पासम्मको यात्रामा नारायणघाट–बुटवल खण्ड अहिले सडक निर्माणको क्रममा भएकाले यात्रा निकै कठिन र थकाइ लाग्दो अनुभव भयो ।

अहिले यो खण्डमा सडक विस्तार तथा मर्मत कार्य भइरहेको छ, जसका कारण सडकको अवस्थाबारे अनुमान गर्न गाह्रो छ । कतै कच्ची सडक, कतै एकतर्फी सञ्‍चालन, र कतै लामो समय गाडी जाममा बस्नुपर्ने स्थिति छ । धूलो, हिलो र गाडीको भीडले यात्रुहरू निकै हैरान हुन्छन् । सबैभन्दा पीडादायक पक्ष चाहिँ समयको अनिश्चितता हो । सामान्य अवस्थामा ६-८ घण्टामा सकिने दूरी, अहिले १८ घण्टा वा त्योभन्दा बढी पनि लाग्न सक्छ । यात्रुहरू खाना, पानी र विश्रामका कुरामा पनि सजग हुनुपर्छ, किनभने जाममा परेपछि लामो समयसम्म केही उपलब्ध नहुन सक्छ ।

तर, यी सबै कठिनाइका बाबजुद पनि यात्राका क्रममा देखिने धुलाम्य र सेताम्य उजाड बोट विरुवा, दक्षिण तिर तराईको दृश्य, र स्थानीय जनजीवनको वास्तविक रहनसहनले यात्रालाई केही हदसम्म रमाइलो बनायो । यो खण्डको बाटो सुधारिए पछि भविष्यका सन्ततिका लागि निकै सहज र रमाइलो यात्रा हुने अपेक्षा गर्न सकिन्छ ।
चैत्र २२ गते, काठमाडौंको कोलाहलपूर्ण वातावरणबाट प्रारम्भ भएको मेरो यात्रा, शान्ति र अध्यात्मको खोजीमा मुक्ति प्राप्त गर्ने पवित्र भूमिमा पुग्ने उद्देश्यले सुरु भयो । तर पाल्पाबाट हामीमा परिणत भयो । बिहानैको उज्यालो संगै हामीले पाल्पा छाड्यौं र पाल्पाको रमणीय भेगतर्फ पाइला बढायौं । साडु दाई विष्णु ढुङगाना दिदी चम्पा ढुङ्गाना नारायण खनाल कविता खनाल कल्पना काकी लगाएत आठ जना पाल्पाबाट यात्रा सुरु गऱ्यौँ । काठमाडौंको कोलाहलपूर्ण वातावरणबाट प्रारम्भ भएको हाम्रो यात्रा, शान्ति र अध्यात्मको खोजीमा मुक्ति प्राप्त गर्ने पवित्र भूमिमा पुग्ने उद्देश्यले सुरु भयो । बिहानैको उज्यालोमा हामीले पाल्पा छाड्यौं र पाल्पाको रमणीय भेगतर्फ पाइला बढायौं । तानसेनको हरियाली, पुराना दरबारहरू र कला-संस्कृतिले भरिपूर्ण यो ठाउँले हाम्रो मन लोभ्यायो ।

हामी पाल्पाको जीरो किलोमिटर पुग्यौं । रानीघाट, अर्घेली हुँदै हामी रिडी बजार पुग्यौं । रिडी बजार बाट उत्तर तर्फ बिहानको नास्ता गऱ्यौ । रिडीबाट हामी मिर्मी, अनि गुल्मीको खड्ककोट हुँदै बागलुङको बलेवा एअरपोर्ट छेउ भएर मालढुंगामा पुग्यौं । त्यहाँबाट बाग्लुङ कालीका मन्दिर, पञ्चकोट हुँदै हामीले बिस्तारै म्याग्दी प्रवेश गरयौं ।

बेनी बजारदेखि कालिको किनारै- किनार गहिरो गल्छी यात्रा अनुभव
बेनी बजार, म्याग्दी जिल्लाको मुटु । कालीगण्डकीको भँगालोले चुमेको यो सहर यात्रुहरूका लागि एउटा महत्वपूर्ण प्रवेशद्वार हो । यहींबाट सुरु भयो हाम्रो यात्रा- कालिगण्डकीको किनारै-किनार गहिरो गल्छी (गर्ज) हुँदै एक अविस्मरणीय साहसिक अनुभव । बेनी बजार चहलपहलले भरिएको थियो । बजारको गल्लीहरूमा गरिरहेका थिए, पसलहरू खोलिंदै थिए, र यात्रुहरू आ-आफ्ना गन्तव्यतर्फ लाग्न तयारी गर्दै थिए । हामीहरू पनि खाना खाएर यात्रा सुरु गर्न तयार भयौं । गन्तव्य थियो- कालीगण्डकीको गहिरो गल्छी हुँदै
बेनीबाट बाहिरिने बित्तिकै बाटो साँघुरिंदै गयो । कालीगण्डकी नदी हामीसँगै बगिरहेको थियो- गहिरो, रहस्यमयी, अनि कहिलेकाहीं तर्साउने आवाज निकाल्दै । दायाँबायाँ अग्ला पहाडहरूले घेरेका थिए, अनि तल गहिरो खोंचमा कालीगण्डकी वेगसँग बगिरहेको थियो । यो दृश्य एकै पटक रोमाञ्चक र डर लाग्दो थियो ।

धूलोले भरिएको कच्ची बाटो, कतै- कतै चट्टान झरिरहेका देखिन्थे । हामीले बाटोभरि थुप्रै झोलुंगे पुलहरू पार गर्यौं । ती पुलमा उभिएर तल हेर्दा- नदीको अविरल बहाव, कालो बालुवाका टिब्बा, अनि शिला- पर्वतहरूको सम्मिश्रण-मनमोहक थियो । जति अगाडि बढ्दै गयौं, गल्छी अझै साँघुरिंदै गयो । केही स्थानमा त पहाडहरू यति नजिक थिए कि आकाश मात्र सानो धर्को जस्तो देखिन्थ्यो । यहाँ घामपनि कमै मात्र प्रवेश गर्थ्यो । बाटोको एउटा छेउ पहाडमा ठोक्किन्थ्यो, अर्को छेउ कालीगण्डकीको तीव्र धारमा ।

अचानक, एउटा साँघुरो मोड पार गरेपछि, हामीले शालिग्राम पाइने ठाउँ भेट्यौं । कालीगण्डकीको किनारैभरि साना- ठूला कालो ढुंगाहरू थिए, जसलाई हिन्दू धर्ममा पवित्र मानिन्छ । केही यात्रुहरू ती ढुंगाहरू खोज्दै नदी किनारमा बसेका थिए । तर हामी भने खोज्न गएनौ । गल्छीको केही भागमा बाटो साँघुरिएर निकै खतरनाक देखिन्थ्यो । एक ठाउँमा पहिरोले बाटो नै थुनिएको थियो । हामीले गाडी रोक्दै, पैदलै अगाडि बढ्यौं । ती ठाउँहरूमा सन्तुलन गुमाए गल्छीको गहिराइमा खस्ने सम्भावना थियो । तर, जति खतरनाक थियो, त्यति नै मनमोहक पनि । माथिबाट झरिरहेका स-साना झरनाहरू, चट्टानका विभिन्न आकार, अनि चिसो हावाले यात्रालाई झन् रोमाञ्चक बनाइरहेको थियो ।

केही घण्टाको रोमाञ्चक यात्रापछि हामी अलि फराकिलो क्षेत्रमा पुग्यौं । गल्छीको साँघुरोपन विस्तारै खुल्दै गयो, र अगाडि जोमसोम क्षेत्रको सुरम्य पहाडी भूभाग देखियो । यो यात्रा केवल एक भौतिक यात्रा मात्र थिएन यो प्रकृतिसँगको अन्तरङ्ग अनुभव थियो । कालीगण्डकीको किनारै- किनार हिँड्दा त्यसको गहिराइ मात्र होइन, प्रकृतिको विशालता र सुन्दरताको महसुस भयो । यो यात्रा मेरो स्मृतिपटमा सदैव ताजा रहनेछ ।

हामीहरु रुप्से झरना नजिकै पुग्यौं । गाडीबाट ओर्लेपछि रुप्से झरना हेर्न लाग्यौं । राजमार्गबाट करिब ३५० मीटर माथिबाट खसेको दृष्यले मन लाई निकै लोभ्यायो । हामीहरु झरना खस्ने ठाउँसम्म पुग्न नपाए पनि उक्त झरनाबाट खसेर बगेको पानी सम्म पुग्यौं । रुप्से झरना नेपालको म्याग्दी जिल्लामा अवस्थित एक प्रसिद्ध झरना हो । यो झरना अन्नपूर्ण क्षेत्रभित्र पर्दछ र बेनीदेखि जोमसोम जाने सडक मार्गमा पर्छ । रुप्से झरना नेपालको एक सुन्दर र प्रसिद्ध प्राकृतिक सम्पदा हो । यो झरना म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ मा अवस्थित छ । समुद्र सतहदेखि करिब १६०० मिटरको उचाइमा रहेको यस झरनाले करिब १०० मिटर अग्लो चट्टानबाट झर्ने पानीले सुन्दर दृश्य प्रदान गर्छ ।

यो झरना अन्नपूर्ण मार्गमा पर्ने भएकाले धेरैजसो पर्यटकहरू यसलाई हेर्न आउने गर्दछन् । विशेष गरी गर्मीयाममा यहाँको दृश्य झनै आकर्षक देखिन्छ । झरनाको वरिपरिको हरियाली, चट्टानहरू र लगातार झर्ने सेतो पानीले यसको सौन्दर्यमा थप चमक ल्याउँछ । रुप्से झरना प्राकृतिक सौन्दर्य, फोटोग्राफी, साहसिक यात्रा तथा स्थानीय संस्कृतिको अनुभव गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो । बेनीदेखि रुप्से झरना पुग्न सवारी तथा पैदल यात्रा गरेर जान सकिन्छ।

कालिगण्डकीको शालिग्रामको माहात्म्य
नेपालको प्रसिद्ध कालिगण्डकी नदी हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ । विशेष गरी यो नदीमा पाइने शालिग्राम शिला (एक प्रकारको पवित्र पत्थर) विष्णु भगवानको स्वरूपका रूपमा पूजिन्छ । हिन्दू ग्रन्थहरूमा शालिग्रामको उत्पत्ति, महत्व र पूजाको विधिबारे उल्लेख गरिएको छ ।

शालिग्रामको उत्पत्ति
पुराणहरू अनुसार, शालिग्राम पत्थर स्वयं भगवान् विष्णुको प्रत्यक्ष स्वरूप हो । स्कन्द पुराण, ब्रह्मवैवर्त पुराण, वराह पुराण आदिमा यसको महिमा वर्णन गरिएको छ । कथा अनुसार, भगवान् विष्णुले दैत्यराज जालन्धर वध गर्नुपरेको थियो । उनकी पतिव्रता पत्नी वृन्दा (तुलसी) को तपस्याले उनलाई अजेय बनाएको थियो । जब विष्णुले छल गरेर वृन्दाको पतिव्रत धर्म खण्डित गरे, त्यसपछि उनले शाप दिए कि “तिमी पत्थरमा परिणत हुनेछौ ।” त्यसैले विष्णु शालिग्राम रूप मा परिणत भए भने वृन्दा तुलसी बनिन् । त्यसयता, शालिग्राम र तुलसीको संयुक्त पूजा विशेष पुण्यदायी मानिन्छ ।

शालिग्रामको प्रकार र विशेषता
कालिगण्डकी नदीमा पाइने शालिग्रामका विभिन्न प्रकार छन्, जसले भगवान् विष्णुको विभिन्न अवतारलाई प्रतिनिधित्व गर्छन् । तिनका आकृति, रंग र चक्रका आधारमा निम्न विशेषता पाइन्छ ।
सुदर्शन शालिग्राम- यसमा स्पष्ट चक्र देखिन्छ, र यो भगवान् विष्णुको सुदर्शन चक्रको प्रतीक हो ।
लक्ष्मी- नारायण शालिग्राम- हल्का पहेँलो रङ्ग भएको यो शालिग्राम घरमा सुख- समृद्धि ल्याउने विश्वास गरिन्छ ।
नृसिंह शालिग्राम- यो उग्ररूपमा पाइन्छ र यो भगवान् नृसिंहको प्रतीक हो ।
कृष्ण शालिग्राम- कालो रङ्गको हुन्छ र यसमा हल्का मोती जस्तो चमक देखिन्छ । वराह शालिग्राम- यो वराह अवतारको प्रतिनिधित्व गर्छ र विशेष रूपमा स्थिरता तथा रक्षा प्रदान गर्ने मानिन्छ।

शालिग्राम पूजाको महत्व
शालिग्रामलाई घरमा राख्दा भगवान् विष्णुको कृपा प्राप्त हुने र पाप नाश हुने विश्वास गरिन्छ ।
तुलसी पत्रसहित शालिग्राम पूजा गर्दा अक्षय पुण्य प्राप्त हुन्छ ।
एक मात्र शालिग्रामको पूजा गरे पनि शिवलिंगको हजार पूजाको फल प्राप्त हुने उल्लेख गरिन्छ ।
विशेष गरी कार्तिक महिना, एकादशी, तुलसी विवाह आदिमा शालिग्राम पूजालाई विशेष महत्त्व दिइन्छ ।

शालिग्रामको वैज्ञानिक पक्ष
शालिग्राम शिला वास्तवमा एमोनाइट जीवाश्म (Ammonite Fossil) हो, जुन लाखौं वर्ष पहिले समुद्रमा रहेका जीवहरूको पत्थरमा परिणत भएको रूप हो । वैज्ञानिक रूपमा यी नेपालका हिमाली क्षेत्रबाट बगेर कालिगण्डकी नदीमा आइपुग्छन् ।
कालिगण्डकीको शालिग्राम धार्मिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिले महत्त्वपूर्ण छ । यो हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभई, पुरातत्वविद्हरूको लागि पनि अध्ययनको विषय बनेको छ । भगवान् विष्णुको प्रत्यक्ष प्रतीक मानिने शालिग्रामको पूजा गर्दा जीवनमा सकारात्मक ऊर्जा, शान्ति, समृद्धि र धार्मिक पुण्य प्राप्त हुने विश्वास गरिएको छ । शालिग्राम बिना विष्णु पूजा अधूरो मानिन्छ।

कागवेनीमा श्राद्ध गर्ने परम्परा
नेपालको मुस्ताङ जिल्लामा पर्ने कागवेनी हिन्दू धर्मावलम्बीहरूको लागि एक पवित्र तीर्थस्थल हो । यो विशेष रूपमा पितृ श्राद्ध (बाबुबाजे-पूर्खाहरूको आत्माको शान्तिको लागि गरिने कर्म) गर्ने स्थलका रूपमा प्रसिद्ध छ । श्राद्धका सामाग्रीहरु लिएर गएका थियौ । पित्रीहरुका संझना र मोक्ष प्राप्तीका लागि हामीलाई पनि कागबेनीमा श्राद्ध गर्ने अवसर मिल्यो । हामी ४ जनाले श्राद्ध पनि गऱ्यौं ।

कागवेनीमा श्राद्धको महत्त्व
कागवेनीलाई हिन्दू धर्मशास्त्रमा पिण्डदानको उत्तम स्थल मानिन्छ ।
यहाँ पिण्डदान गर्दा गया श्राद्धको बराबर पुण्य प्राप्त हुने विश्वास गरिन्छ । यस स्थलमा पिण्डदान गर्दा विशेष गरी नरकमा परेका पितृहरू समेत मोक्ष पाउने जनश्रुति छ । यो स्थान कालिगण्डकी नदीको किनारमा अवस्थित छ, जहाँ शालिग्राम शिला पाइन्छ, जुन भगवान् विष्णुको स्वरूप मानिन्छ ।

श्राद्ध गर्ने विधि
तर्पण: बिहानै स्नान गरेर कालिगण्डकी नदी किनारमा पितृहरूको नाम लिँदै जल तर्पण गरिन्छ।
पिण्डदान: चामलको पिठो, तिल, मह, दूध, घिउ आदि मिसाएर बनाइएको पिण्ड पितृहरूको नाममा चढाइन्छ ।
ब्राह्मण भोजन: ब्राह्मण वा साधु-सन्तहरूलाई भोजन गराएर दक्षिणा दिइन्छ ।
गाई, काग, कुकुर र गरुडलाई भोजन: हिन्दू धर्ममा यी चार जीवहरूलाई पितृको प्रतिनिधि मानिन्छ, त्यसैले उनीहरूलाई भोजन दिनु अनिवार्य मानिन्छ ।

विशेष दिनहरू
बाबु वा आमा दिवंगत भएको वार्षिक तिथिकुशे औँसी (बिशेष श्राद्ध पर्व)
महालय पक्ष (पितृपक्ष)-भाद्र-असोज महिनाको कृष्णपक्ष ९१५ दिन) कागवेनीको श्राद्धले पितृहरूले मोक्ष प्राप्त गर्ने र तिनका सन्ततिहरूलाई पुण्य लाभ हुने धार्मिक विश्वास छ। यहाँ श्राद्ध गरेमा पूर्वजहरू तृप्त भएर आशीर्वाद दिने जनश्रुति रहेको छ। श्राद्ध सकेर मुक्तिनाथ मंदिर तिर उकालो लाग्यौं। त्यहाँबाट १४ कि मी उत्तरपूर्वमा रहेको मुक्तिनाथ मन्दिर तिर लाग्यौं।

मुस्ताङ्‌का उजाड पहाड: एक अद्भुत अनुभूति
मुस्ताङ्‌को यात्रामा निस्कँदा मनमा छुट्टै उत्साह हुन्छ । सधैँ हरियाली डाँडाकाँडा र घना जङ्गलहरू हेर्ने बानी परेका आँखाहरूले मुस्ताङ्‌का उजाड पहाडहरू देख्दा पहिलोपटक हाम्रा आँखाले पनि केही अनौठो महसुस गरे । हरियाली नभएको, बुट्यानसमेत न्यून भएका ती पहाडहरू एक प्रकारको शून्यता बोकेर उभिएका जस्ता लाग्थे । तर जब घामको किरण ती पहाडमाथि पर्थ्यो, ती उजाड डाँडाहरूले पनि आफ्नो छुट्टै सौन्दर्य देखाउन थाल्थे । माटोका रंगहरू, हावाले बनाएका बुट्टा, खोल्सीहरूका आकृतिहरूले प्रकृतिको अनौठो चित्रकला जस्तै लाग्थ्यो । हावाले उडाउने धूलो र टाढासम्म देखिने बगरहरूले एक किसिमको शान्त वातावरण सिर्जना गरेका थिए ।

यो उजाडपना उदास लाग्ने खालको थिएन, बरु त्यहाँको मौनताभित्र एक प्रकारको गहनता थियो । जीवन कठोर भए पनि सम्भव छ भन्ने सन्देश जस्तो लाग्थ्यो । टाढाटाढासम्म देखिने हिमालका टाकुराहरू, पुराना गुम्बाहरू, अनि छरिएका बस्तीहरूले त्यो शून्यता तोडेर नयाँ कथा सुनाइरहेका थिए ।मुस्ताङ्‌का उजाड पहाडहरू हेर्दा लाग्यो- सौन्दर्य केवल हरियालीमा मात्र होइन, मौनतामा, एकान्तमा र कठोरताभित्र पनि लुकेको हुन्छ । यस यात्राले प्रकृतिको विविधता बुझ्न मात्र होइन, जीवनलाई नयाँ दृष्टिकोणले हेर्न पनि सिकायो । मुक्तिनाथ परिसर नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक पवित्र धार्मिक स्थल हो, जुन समुद्र सतहदेखि करिब ३९७० मिटरको उचाइमा रहेको छ । यो स्थान हिन्दु र बौद्ध धर्मावलम्बी दुबैको लागि अत्यन्तै महत्वपूर्ण तीर्थस्थल मानिन्छ । मुक्तिनाथ अन्नपूर्ण हिमश्रृंखलाको पछाडिपट्टी, थोराङ-ला दर्राको नजिक रहेको छ। यहाँको वातावरण शान्त, पवित्र र हिमाली सौन्दर्यले भरिपूर्ण हुन्छ। वरिपरि हिमाल, सुक्खा भेग, र बौद्ध-हिन्दु मन्दिरहरूको संगम देख्न पाइन्छ।

धार्मिक महत्व
हिन्दु धर्मअनुसार, मुक्तिनाथ “मोक्ष प्राप्तिको स्थल” हो । यहाँ रहेको विष्णु मन्दिरलाई “मुक्तिनारायण” पनि भनिन्छ । यहीं १०८ धारा (धुनी) हरूबाट पानी बग्ने गर्दछ, जहाँ श्रद्धालुहरू स्नान गरी पाप मुक्त हुने विश्वास गर्छन् ।बौद्ध धर्मअनुसार, यो स्थल पद्मसम्भव (गुरु रिन्पोछे) ले ध्यान साधना गरेको पवित्र स्थान मानिन्छ । बौद्धहरू यसलाई “चुमिग ग्यात्सा” (सय धाराको स्थान) भनी चिन्ने गर्छन् ।

प्रमुख आकर्षणहरू
विष्णु मन्दिर (मुक्तिनारायण)- मुख्य मन्दिर कालो पत्थरले बनेको छ, जहाँ विष्णुको मूर्ति स्थापित छ ।
१०८ धाराहरू- मन्दिरको वरिपरि रहेका यी धाराहरूमा स्नान गर्नाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

ज्वालामाई मन्दिर- यहाँ प्राकृतिक ग्यासको ज्वाला सतहबाट निस्किएको देख्न सकिन्छ, जुन हिन्दु र बौद्ध दुबै धर्ममा अद्वितीय चमत्कार मानिन्छ ।
यो यात्रा संस्मरणको अनुभवले आत्मिय शान्तिको रमाइलो झल्को दियो । मुक्तिनाथ परिसरमा स्नान र पूजा- पाठ गरेर मानसिक शान्तिको अनुभूति मिल्यो । त्यसपछि बजार झरेर खानपिन गरेर गन्तव्यतर्फ फर्किदा थकाइसंगै सन्तुष्टिको पनि महसुस भयो ।


विवेक शर्मा गौतम