• २०८२ आश्विन २३, बिहीबार

नेपाल वाङ्मय परिषद्ले गरयो स्रष्टा सम्मान तथा कृति लोकार्पण

धनगढी ।

नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीले कृति लोकार्पण र स्रष्टाहरूको सम्मान गरेको छ । नेपाल वाङ्मय परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको सभाध्यक्षता, संस्थाका सचिवालय सदस्य भुवन बोहराको सञ्चालन र पूर्व मन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्व मन्त्री तारिणीदत्र् चटौत, वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत, भाषा आयोगका माननीय सदस्य सुरेश मानन्धर र साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

त्यस्तै वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, प्रखर स्रष्टा सुभाषचन्द्र भण्डारी, राजलक्ष्मी चटौत अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित प्रतिभा लगायत मञ्चमा आसीन व्यक्तित्वहरूले वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गरेको ‘सुदूरपश्चिमेली लोकगीतसंग्रह’ लोकार्पण गरेका थिए । उक्त लोकार्पित कृति साझा प्रकाशनले प्रकाशन गरेको हो । प्रखर कवि एवं भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल, ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले ‘सुदूरपश्चिमेली लोकगीतसंग्रह’को समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विसं २०८१ का लागि नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल एवं कर्मयोद्धा सिर्जना सम्मानबाट राजेन्द्र तारकिणी सम्मान गरिएको थियो । त्यस्तै विसं २०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्राडा महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्रा. डा. कपिल लामिछाने, राधिका–गोपालदत्र् लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’ सम्मान गरिएको थियो ।

यसअघि नै घोषणा गरिएका राधिका–गोपालदत्र् लघुकथा सम्मान २०८१ का लागि डा. रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएको थियो । आफ्नै घरायसी समस्याका कारण स्रष्टाहरू कार्यक्रममा उपस्थित नभएका कारण उनीहरूलाई पछि अलग्गै कार्यक्रम गरेर सम्मान प्रदान गरिनेछ। आजको कार्यक्रममा प्रा. डा. महादेव अवस्थी, प्रा. डा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल त्यस्तै गरी विशिष्ट अतिथि मनोहर लामिछाने, आरडी प्रभास चटौत, तारिणीदत्र् चटौतले मन्तव्य प्रस्तुत गरेका थिए ।

संस्थाका कोषाध्यक्ष तिलकबहादुर सिंहले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा सत्या अधिकारी, मन्दिरा चापागाईंं, मनिषकुमार शर्माले लघुकथा र सुभाषचन्द्र भण्डारीले कविता वाचन गरेका थिए । प्रमुख अतिथि शान्ता मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा संस्थाका माध्यमबाट महत्त्वपूर्ण कार्यक्रम गरेकोमा संस्थाका अध्यक्ष एवं संस्थाको प्रशंसा गरिन् । उनले संसार बदल्ने कर्मशील मानिसले मात्र सक्दछ भन्ने विचार राखिन् । सभामा संस्थाको तर्फबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।