• २०८२ भाद्र २८, शनिबार

कवि किरातीलाई ‘लिब्ज-भुम्जु पुरस्कार’

काठमाडौँ ।

कवि सोनाम सज्जन किरातीलाई ‘लिब्जु- भुम्जु पुरस्कार -२०८१’ प्रदान गरिने भएको छ । २०५० सालदेखि निरन्तर प्रकाशित ‘लिब्जु- भुम्जु’ त्रैमासिक पत्रिकाको सय अंक पुगेको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो । ‘लिब्जु-भुम्जु’ मा वर्षभरि प्रकाशित कवितामध्ये सोनाम सज्जन किराती (देवराज राई) को कविता उत्कृष्ट कविताको रूपमा छानिएको हो ।

वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोजक रहेको पुरस्कार छनोट समितिले किरातीको कवितालाई उत्कृष्ट कविताको रूपमा छानेको हो ।लिब्जु-भुम्जु त्रैमासिक -८औं शृंखला, २०८१ साउन-असोज अंकमा प्रकाशित ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) कविताले ग्रामीण जनजीवनको मर्मस्पर्शी रूपमा चित्रण गरेको छ । कविताले रोजगारीका लागि सिलोङ पुगेका एक युवकको कथाको माध्यमबाट घरगृहस्थीको सौन्दर्य र लोप हुँदै गएको भाषासंस्कृतिको पीडादायी यथार्थ पस्किएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किरातीका ‘नपुंसक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरणसंग्रह, २०८०) प्रकाशित छन् । उक्त पुरस्कार नेपाल टेलिभिजनका पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ सालमा स्थापना गरेका हुन् । अहिलेसम्म यस पुरस्कारबाट २४ कवि पुरस्कृत छन् । सम्मानपत्र सहितको ५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार २५औं वाम्बुले राई भाषाको कविता गोष्ठीमा प्रदान गरिने सम्पादक गणेश राईले बताए ।