समाचार

काठमाडौँ ।
प्रज्ञा-प्रतिष्ठानले पत्रकारद्वय मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रज्ञा प्रतिष्ठानले साहित्यिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट साहित्यिक पत्रकारलाई प्रदान गर्नेगरी २०८१ सालमा प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।
साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आएका छन् । उनको प्रधान सम्पादकत्वमा विगत ४० वर्षदेखि जनमत साहित्यिक मासिक प्रकाशित हुँदै आएको छ । जुन नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ । अर्का वरिष्ठ साहित्यिक पत्रकार वीरबहादुर चन्द ’विश्राम’ले ३० को दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आएका छन् ।
चन्दको प्रधान सम्पादकत्वमा डोट्याली भाषाको साहित्यिक मासिक ’गुगुल्डी’ सुदुरपश्चिमको कन्चनपुरबाट विगत २८ वर्षदेखि प्रकाशित हुँदै आएको छ । नेपाली डोट्याली भाषामा लोकप्रिय रहेको ’गुगुल्डी’को ३३१ अङ्क प्रकाशित भइसकेको छ । साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठक जस्तो महत्त्वपूर्ण भूमिकामा रहेका चन्द गुगुल्डी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।