• २०८२ कार्तिक १७, सोमबार

छिन्नलता गुठीद्वारा २०८१ सालकोे छिन्नलता पुरस्कारको घोषणा

काठमाडौं ।

छिन्नलता गीत पुरस्कार गुठीले ०८१ सालकोे ‘छिन्नलता गीत पुरस्कार’ गीत संगीतका विभिन्न सर्जकहरूलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका सचिव कवि दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत फुयाँल) तथा गायनतर्फ इतु जोजिजू र रामभक्त जोजिजूलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी युवा प्रतिभा पुरस्कार एस.डी. योगीलाई दिने निर्णय गरिएको छ । यो पुरस्कार ८१ सालको लोकप्रिय गीत ‘रुकुम मैकोट’को संगीत र स्वरका निम्ति योगीलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

०७५ देखि छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।घोषित पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्मदिन आउँदो असार २२ गते पर्ने हरिशयनी एकादशीका दिन प्रदान गरिने जनाइएको छ ।