• २०८२ भाद्र २७, शुक्रबार

जनकवि केवलपुरे किसानको ९९औँ जयन्तीः अन्तरक्रिया र रचनावाचन कार्यक्रम सम्पन्न

केवलपुर धादिङ ।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका अन्तर्गत केवलपुरमा ९९ वर्ष अघि जन्मिएका जनकवि केवलपुरे किसान (देबीप्रसाद पौडेल) को सम्झनामा एक अन्तरक्रिया तथा रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । धादिङ सिर्जना प्रतिष्ठान र थाक्रे गाउँपालिका वडा नं १० को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धादिङबेसी सेरोफेरोबाट र काठमाडौँबाट आएका साहित्यकार एवं साहित्य अनुरागीका साथै स्थानीयबासीहरूको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ नरनाथ लुइँटेल हुनुहुन्थ्यो । कार्यक्रम धादिङ सिर्जना प्रतिष्ठानकी अध्यक्ष सिर्जना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा डा. रामहरि लम्साल, उत्तम कडेल, डा. बालचन्द्र मिश्र, गोपीचन्द्र कार्की, प्रकाश पौडेल, बमबहादुर केसी, गायत्री खतिवडा, कृष्ण शिशिर, शुशिला घिमिरे लगायतको आतिथ्यता रहेको थियो । धादिङ सिर्जना प्रतिष्ठानको आयोजनामा पहिलो पटक २०७५ सालमा सोही ठाउँमा आयोजित कार्यक्रममा तत्कालीन पालिका अध्यक्ष रामकुमार आचार्यले केवलपुरे किसानको नाममा शालिक र पार्क बनाउने घोषणा गर्नुभएको थियो । सोही पार्कमा बनेको केवलपुरे किसानको सालिकमा माल्र्यापण गरी औपचारिक कार्यक्रम सुरुवात भएको अन्तरक्रिया तथा रचनावाचन कार्यक्रममा वडाध्यक्ष गोकुल प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

केवलपुरे किसानको व्यक्तित्व र कृतित्वमा प्रकाश पार्नुहुँदै डा. रामहरि लम्साल, उत्तम कडेल, डा. बालचन्द्र मिश्र, गोपीचन्द्र कार्की लगायतले उहाँको क्रान्तिकारिता साँच्चै बन्दनीय रहेको र यसले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तनमा ठूलो योगदान दिएको बताउनुभएको थियो । धादिङ सिर्जना प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जिल्लाका अग्रज साहित्यकार र स्रष्टाहरूको योगदानलाई उत्खनन गर्ने, संरक्षण र सम्बृद्धिका लागि सम्बन्धित रहेका संघसंस्थालाई घचघचाउने तथा सहकार्य गर्ने र ती निधिहरूको दस्तावेजीकरण गर्ने उद्देश्य अनुरूप आफूलाई अघि बढाइरहेको बताउनुभयो । साथै केवलपुरे लगायत अन्य योगदानकर्ताहरूको महिमा र व्यक्तित्व झल्किने सामग्री समेटेर पुस्तकालय व्यवस्थापन र सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले कार्यक्रम अत्यन्तै अर्थपूर्ण रहेको र यस क्षेत्रका भाषा, साहित्य, संगीत, कला, संस्कृतिको कार्यका लागि गाउँपालिकाले नै एक प्रतिष्ठान बनाएर अघि बढ्न यस कार्यक्रमले थप उर्जा प्रदान गरेको बताउनुभयो । प्रमुख अतिथि प्राज्ञ नरनाथ लुइटेलले केवलपुरे किसानसँग बिताएका क्षणहरू स्मरण गर्दै कवि किसानको जीवनकै पहिलो र अन्तिम अन्तर्वार्ता आफूले लिएको प्रसङ्ग प्रस्तुत गर्नुभएको थियो । उहाँले कवि किसानलाई २००६ सालमै हलो जोतेर सामाजिक सुधारका निम्ति बिद्रोह गर्ने विद्रोहका प्रतीक बताउनु भयो । साथै उहाँले जीवनभरी कविता र गीत मार्फत परिवर्तनको पक्षमा सशक्त आवाज मुखरित गरिरहने केवलपुरे किसानको सम्झनामा वर्षैपिच्छे गाउँपालिकाले कार्यक्रम आयोजना गरी उहाँको योगदान नयाँ पुस्ताकाबीच हस्तान्तरण गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा डा. रामहरि लम्साल, डा. बालचन्द्र मिश्र, गोपीचन्द्र कार्की, गोमा पौड्याल, विनोद पौडेल, शुशिला घिमिरे, गायत्री खतिवडा, रोजिना ढकाल लगायत एक दर्जनभन्दा बढी कविहरूले केवलपुरे किसानमा समर्पित गीत र कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि किसानका परिवारजन, स्थानीय बासिन्दा र किसानसँग निकट रहेका साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।