• २०८२ आश्विन ७, मंगलवार

प्रा. डा. मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौँ ।

नेपाली भाषाशास्त्र विज्ञ, लोक सांस्कृतिक विश्लेषक, कवि एवम् गीतकार प्रा. डा. मोहनप्रसाद तिमल्सिनाको व्यक्तित्व र कृतित्व झल्कने सामग्री समेटिएका ‘प्रा. डा. मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ’को लोकार्पण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गरेका हुन् ।

मन्त्री अधिकारीले प्रा. डा. तिमल्सिनाको धादिङमा मात्रै नभएर मुलुकमै भाषा, साहित्य तथा शिक्षाको विकासमा अतुलनीय योगदान रहेको बताए । उनले जिल्लाका अन्य स्थानीय तहले समेत प्रा. डा. तिमल्सिनाजस्तै अनुकरणीय व्यक्तित्वहरुको यसरी नै सम्मान गर्न सके नयाँ पुस्तालाई प्रेरणा मिल्ने विचार पनि व्यक्त गरे । अभिनन्दन ग्रन्थ धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले प्रकाशन गरेको हो प्राडा तिमल्सिना सोही गाउँपालिकाका वडा नं. ४ सल्यानकोट, काफलडाडाका स्थायी बासिन्दा हुन् ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका प्रा. डा. तिमल्सिनाले नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा र्पुयाएका योगदानको कदर गर्दै अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले प्राडा तिमल्सिनाजस्ता मूर्धन्य व्यक्तित्वको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन गर्न पाउनु समग्र गाउँपालिकाकै लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा लोक सांस्कृतिविद् नन्दकृष्ण जोशी, कलाकार एवम् कवि शैलेन्द्र सिम्खडा, शिक्षाविद् हरिविनोद अधिकारी र हरिसिंह केसी, नेपाली कांग्रेस धादिङका नेताहरु तिलक रुवाली र बासु तिमल्सिनालगायतका वक्ताहरुले प्राडा तिमल्सिनाको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । अभिनन्दन ग्रन्थमा प्राडा तिमल्सिनालाई राम्ररी चिनेका २४ जनाले लेखेका उनको बाल्यकालदेखि हालसम्मको जीवन गाथा झल्कने २४ वटा सामग्री छापिएका छन् । अभिनन्दन ग्रन्थको सम्पादन प्रा. डा. तिमल्सिनाका शिष्यहरू डा. नवीनबन्धु पहाडी, डा. मुरारी अधिकारी र डा. मोहनबहादुर कँडेलले गरेका हुन् ।