• २०८२ कार्तिक १२, बुधबार

गिलु रातोसको कृति ‘मेषीदण्ड’ सार्वजनिक

काठमाडौं ।

कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति ‘मेषीदण्ड’ बानेश्वरस्थित मण्डला थिएटरमा लोकार्पण भएको छ । मण्डला थिएटर नेपालद्वारा प्रकाशित यस कृतिलाई कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र स्वयं लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

६ गतेबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव-२०२५’ को अवसरमा मण्डला थिएटरमा आयोजित एक समारोहमा यस कृतिको लोकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै कवि मुकारुङले ‘मेषीदण्ड’ लाई काल्पनिकताभन्दा पर गएर कलाको माध्यमबाट सत्य बोल्ने ऐतिहासिक दस्तावेजको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘यो नाटकले नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै वास्तविकतालाई उजागर गर्छ। अहिलेको पुस्ताले लेखेको यो अब्बल नाट्यकृति हो र यसको प्रकाशनले यसलाई थप निर्देशकहरूका लागि पहुँचयोग्य बनाएको छ ।”

लेखक तथा अभियन्ता अजितले नाटकमा राज्यद्वारा गरिने विभेद र त्यस विरुद्ध एकीकृत आन्दोलनको आवश्यकतालाई उजागर गरिएको उल्लेख गर्दै समाजमा हुने विभेदविरुद्ध यस्ता कृतिहरू निरन्तर लेखिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले भाषा र सङ्गीतको माध्यमबाट समाजलाई कसरी जोडेको छ भन्ने रोचक पक्षबारे प्रकाश पार्नुभएको थियो । अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म सफलतापूर्वक मञ्चन भएको थियो । अब यसको प्रकाशित रूपले यसलाई अझ व्यापक पाठक र दर्शकसम्म र्पुयाउने अपेक्षा गरिएको छ। मण्डला थिएटरले यस नाटकलाई पुस्तकका रूपमा प्रकाशन गरेको हो ।