• २०८२ भाद्र २९, आईतवार

कवि तथा गीतकार सरला श्रेष्ठको गीति एल्बम ‘कोपिलाको पुकार’ सार्वजनिक

काठमाडौँ ।

गीतकार संघ नेपालको आयोजनामा अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व तथा गीतकार एवं गजलकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा कवि तथा गीतकार सरला श्रेष्ठको गीति एल्बम कोपिलाको पुकार हालै राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा संगीतकार राजु सिंहले एल्बमका गीतमा मन छुने संगीत सिर्जना भएको बताए । संगीत रोयल्टी संकलन समाजका महासचिव बद्री पाण्डे, नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष संगीता राना प्रधान, गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटाले गीतकार श्रेष्ठको गीति लेखनमा सफलताको शुभकामना दिएको कार्यक्रममा प्रमुख अतिथि गीतकार डा. बरालले श्रेष्ठको लेखनमा शुद्धता, सरलता र विशिष्टता पाएको चर्चा गरे ।

कार्यक्रममा गायिका बबिना भट्टराई र प्रतिज्ञा कुँवरले गीत प्रस्तुत गरेका थिए। एल्बममा लक्ष्मण पोखरेल, बबिना भट्टराई, सरोज पोखरेल, निर्मल दियाली, शंकर थापा स्माइल र नरेन्द्र प्यासीको संगीत छ भने दीपा झा, बबिना भट्टराई, प्रताप दास, अन्जु पन्त र शिवराज विश्वकर्माको स्वर रहेको छ । गीतकार सुमन पण्डितले सञ्चालन गरेको कार्यक्रममा कोपिलाको पुकार गीतको भिडियो प्रदर्शन गरिएको थियो ।