समाचार

काठमाडौँ ।
धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा दुईवटा समालोचनात्मक कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दयाराम श्रेष्ठले नेपाली साहित्यमा जति पनि समालोचना छन्, ती प्राध्यापकीय र परम्परागत रहेकाले अब त्यसबाट माथि उठ्नुपर्ने बताएका छन् । प्रा. डा. रामप्रसाद ज्ञवालीले पठन संस्कृति संकुचित हुँदै गइरहेको आजको अवस्थामा समालोचना लेखन परम्परा पूर्वाग्रह र आग्रहमा केन्द्रित भएकाले अब गहिराइमा पुगेर वस्तुपरक, कृतिपरक र मूल्यपरक लेखिनुपर्नेमा जोड दिए । प्रा. डा. देवी नेपालले सूत्रात्मक रूपमा लेखिएका स्रष्टा श्रेष्ठका दुवै कृतिले समालोचनाका नैतिक मूल्य र निष्ठा आत्मसात गरेको बताए ।
प्रा. डा. कुमारप्रसाद कोइरालाले दयाराम श्रेष्ठ र उनका समकालीन समालोचकहरूले स्थापित गरेको प्रभाव यी दुई कृतिमा पनि पाइएको बताए । प्रा. अनुपमा रेग्मीले भावनात्मक मूल्यलाई मान्यता दिइएका दुवै कृति प्रभावपरक मूल्यांकनका दृष्टिले सफल रहेको बताइन्। कार्यक्रममा देवु लुइटेल, रामदेव पाण्डे लगायतले बोलेका थिए । दुवै कृति ऐरावती प्रकाशनबाट छापिएका हुन् ।