• २०८१ माघ ९ बुधबार

महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण ‘लेकबेँसीका सुगन्धहरू’सार्वजनिक

स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण लेकबेँसीका सुगन्धहरू सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए । काभ्रेको मण्डन देउपुरको माझीटार क्षेत्र यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान अविरल बग्दछ इन्द्रावतीको सिर्जनाभूमि पनि हो ।  विकलले यसै क्षेत्रमा बसेर उक्त कृति सिर्जना गर्नुभएको थियो ।

सुमन नेपालको स्वागत मन्तव्यनाट शुरू भएको उक्त कार्यक्रममा समालोचकद्वय ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने कृतिकार महेन्द्र चालिसेका दाजु एवं साहित्यकार विजय चालिसेले पनि संक्षिप्त मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अथिति वरिष्ठ साहित्यक पत्रकार एवं रमेश विकलका प्रिय मित्र रोचक घिमिरेले मित्र विकलको सिर्जनाभूमिमा आएर उनकै सुपुत्रको कृति लोकार्पण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले ४०/४५ वर्षअघि यसै क्षेत्रमा विकलसँग पटक पटक सँगै भ्रमण गर्दाका स्मरणीय प्रसङ्गहरू पनि सुनाउनुभएको थियो ।

कार्यक्रममा सर्जक महेन्द्र चालिसेले राजधानीदेखि मण्डन देउपुरको माझी गाउँमै आएर आफ्नो कृति सार्वजनिकीकरण गर्नुको उद्धेश्य कृति लोकार्पणका बहानामा पिताको सिर्जनाभूमिसँग स्रष्टाहरूलाई परिचित गराउनु पनि रहेको उल्लेख गर्नुभयो । काठमाडौदेखि पुगेका लगभग १०० साहित्यकारहरू सहित स्थानीयको पनि बाक्लो उपस्थितिबीच सम्पन्न उक्त कार्यक्रमको सँचालन आलोक चालिसेले र कार्यक्रमको संयोजन प्रतीक घिमिरेले गर्नुभएको थियो ।