• २०८२ आश्विन ८, बुधबार

मर्यादा

ईश्वर पोखरेल

ईश्वर पोखरेल

लामो समयसम्म रिसेप्सनमा काम गरें ।
लामो समय के भन्नु, जीवनको समग्र सर्भिस पिरियड रिसेप्सनमै बिताइयो भने पनि हुन्छ । नियुक्तिकै दिन बोसले प्रशंसामा भनेका थिए- ‘तिमी हँसमुख रहिछ्यौ; हाम्रो रिसेप्सनमा सुहाउँछ्यौ ।’

रिसेप्सन सम्हाल्नुअघि ग्राहकसंग हाँसेर बोल्नुपर्छ भनेर कसैले मलाई संकेत गर्नुपरेन । मान्छे भेट हुँदा मुसुक्क मुस्कुराउनु मेरालागि कुनै ठूलो र सिक्नु पर्ने कुरा थिएन । कुनै दिन कुनै ग्राहकले मेरो व्यवहारलाई लिएर गुनासो पनि गरेन ।

हाँसोलाई सीमाबद्ध गर्न भने मैले रिसेप्सनमै बसेपछि सिकें । म दिनहुँ सयौं मानिसहरूसंग हाँस्छु र हाँसेर व्यवहार गर्छु ।

साथीहरू जिस्क्याउँछन्- ‘तिम्रो हाँसोमा एउटा सीमा छ । त्यो सीमा तिमीबाट कहिल्यै उलंघन भएको देखिएन । तिम्रो मुस्कान चित्रकी केटी मुस्काए जस्तो । सधै एउटै, सधै उस्तै ।’

आफ्नो सर्भिस पिरियडमा मैले खित्का छाडेर हाँस्नु हुँदैन भन्ने सिकेछु; त्यसलाई अशिष्ट मान्न थालेछु । म खित्का छाडेर हाँस्नुलाई मर्यादाको सीमाबाहिर राखेर वषौंवर्ष हाँस्दै आएछु । मेरो हाँसोबाट खित्का हराएछ ।

मेरो हाँसोलाई लिएर केही साथीहरू कठोर टिप्पणी गर्छन्- ‘जागिर खाने क्रममा तिमीले हाँस्न बिर्सिएकी छ्यौ । तिमी मुस्कुराउन सक्छ्यौ; हाँस्न सक्दिनौ ।’

म टिप्पणी सुन्दा आहत हुन्छु ।


ईश्वर पोखरेल
महालक्ष्मी–३, बोझेपोखरी; ललितपुर
[email protected]