पश्चिमतिर
सुस्तरी बगिरहेछ सुनकोशी
पूर्वतिर
अधैर्य चौरीखोला
दुवै किनारमा जोर खुट्टा टेकेर
ठिङ्ग उभिएको छ
कोशीपारी,
कात्तिके देउराली ।
सुनकोसी र चौरीखोलाको बीचमा
असी नाघेका हजुरबा झैं
कुरेर बुढ्यौलीको सांगुरो आगन
बर्खाको चौरीखोलामा
विसर्जन गर्दै जवानीका तेजहरू,
शिशिरबाट
ग्रहण गर्दै शून्यताका सुस्केराहरू,
झकाउँदै बसेको छ
देउरालीको पुरानो स्कुलघर ।
स्मृतिको तरेलीमा
छन् घुरमैला तस्बिरहरू
सहेका घोर वज्रपातहरू
भोगेका कठोर चक्रवातहरू
देखेका घात प्रतिघातहरू…
युद्धको मैदानमा
सहयोद्धा गुमाएर
ठिंगो बांचेको भूतपूर्व कमान्डर झैं
समयका अभूतपूर्व चोटहरूलाई
गुम्साएर मनमनै
नातिनातिना स्कूलघरहरूलाई
सुनाउदै युगका पुरूषार्थहरू
काटिरहेछ
बूढ्यौलीका लामा दिनहरू ।
विस्मृतिको भुमरीमा डुबुल्की मार्दै
यादको डुङ्गामा सम्हालिँदै,
सम्झन्छ ऊ युगका नायकहरू
देउराली माईलाई
चढाएर दुखको पसिना
चौतारीमा सुस्ताएका भरियाहरू
मिर्मिरे नहुदै कता गए होलान् !
आँखामा,
फुलाएर सपनाको लालीगुरास
जीवनको गीत गाउने चराहरू
साहसको पखेटा फटफटाउदै
कुन दिशामा उडे होलान् !
समयका गोताखोरहरू
हाम फालेर हिम्मतको नदिमा
नफर्कने बाटैबाटो
कुन ठाउमा पुगे होलान् !
हुरीसँग सिंगौरी खेल्ने जूनकीरीहरू
स्वयं हुरी बनेर
अध्यारो रातमा
बिहानीको गीत गाउने झ्याउकिरीहरू
गीतलाई अधुरो छाडेर
इतिहासलाई
शोभायमान बनाउने
खडेरीका राता फूलहरू
देउरालीमा फुल्न छाडेर
कता हराए होलान् !
ठेगानामा हिडेका पाइलाहरूलाई
सफलताको नदि तारेर
स्वयं डुंगा बनेको नाविक झैं
समयको अन्तिम किनारमा उभिएर
विस्मृतिको संघारमा पुग्नै लागेका
आफु जत्तिकै पुराना यादहरू
कोट्याएर ब्युझाउदै
बुढ्यौलीको तन्द्रामा उघिरहेछ
काकाकुल देउरालीको पुरानो स्कुलघर ।
दीपक चौलागाईं