• २०८१ कातिर्क २१ बुधबार

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

पोखरा ।

युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ पोखरामा सार्वजनिक गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुभएको हो । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उहाँले भन्नुभयो, “विश्वका कैयौं बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।”

लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो । दीपक सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने विश्वास सरुभक्तले प्रकट गर्नुभयो । आयोजक दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले दीपकले पहिलो उपन्यासमै धेरै विषयवस्तु उठान गरेको बताउनुभयो । जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको भन्दै पौडेलले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको जनाउनुभयो ।

कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आउनुभएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको बताउनुभयो । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्रहरू हेरेको बताउँदै उहाँले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण गर्नुभयो । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको उहाँको भनाइ थियो । गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दीपशिखा साहित्य सङ्गमका सल्लाहकार रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सम्पादक दशरथ सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।