समाचार

उतै जन्मियो, उतै बढ्यो, उतै पढ्यो । बोल्दा उसको बोलीमा अंग्रेजी टोन झ्याप्पै आउँथ्यो । ‘बाउकै जसरी बाउकै ठाउँमा आजीविका शून्यबाट शुरू गर्छु’ भन्थ्यो । ‘आउँछु, आउँछु’ भन्न थालेको धेरै भएको थियो । बाउ बितेको तोडमा यो उसको भावुकता होला भन्ने हामीलाई लागेको थियो; पत्यार कसैलाई थिएन ।
आउने नै भएछ ।
आएछ !
आठ दश वर्षअघि आएर नागरिकता बनाएको थियो । इन्जिनियर हो । काम नपाउने कुरा थिएन । दक्षता हेरेर लोकसेवाले नै नियुक्ति दिएछ ।
केही दिन जागिरमा रमायो । बिस्तारै बुझ्यो- तलबले गुजारा गर्न गाह्रो हुने कुरा ।
कसरी बसेको होला भन्ने जिज्ञासा थियो । एक दिन गएँ ।
क्वाटरमा महंगा फर्निचर खासै थिएनन् ।
‘कमाइनस् ?’ मैले चारैतिर आँखा घुमाएर भनें ।
भन्यो-‘अंकल, कमाउनु भनेको उच्च दक्षता देखाएर इमान्दारीका साथ बढी खट्नु होइन ?’
उसले आफूले बुझेका कुरा गरयो ।
कमाइका सम्बन्धमा उसले उता बुझेका सबै कुरा पुरै मेटेर ‘यहाँ कमाउनु भनेको हुने काम पनि हुँदैन भन्नु, पैसा नलिई कामै नगर्नु र कामको गुणस्तर घटाउन भित्री सम्झौता गरेर ठेकदारसंग पैसा लिनु हो’ भनेर बझाउन त्यस मुर्खलाई कखराबाटै सुरु गर्नु पर्ने पो देखियो !
मसंग त्यत्रो फुर्सद कहाँ पाउनु !
चिया बिस्कुट खाएँ, उठें र चुपचाप हिडें ।
ईश्वर पोखरेल
बोझेपोखरी, ललितपुर
[email protected]