समाचार

मलेखु पुगे जो र निर्दोष जीवन, दुर्गा माताको आशीर्वादले सम्पूर्ण यात्रा सहज भयो । दशरथ र राम जोडी, शशी र घाम जोडी, सबै छोडी, सानिमाको काखमा पुग्न अलकापुरी कान्तिपुरी मावलीलाई गन्तव्य बनाएर बिहानै साइत जुराए, गजलपुरबाट । प्रोफेसर दिग्गजनारायण धर्मोपाद्याय ग्रन्थश्री र सुपुत्र, साराले चिनेका, लक्ष्मीकान्त पोस्तकराम गजलोपाध्याय लुरे श्री सहयात्री, गफ गर्दै । छोरा, अरूलाई बर्वाद गर्ने मान्छे कहिल्यै पनि आवाद हुँदैन । अरूलाई अपमान गरेर हाम्रो सम्मान बढ्दैन । अरूलाई अयोग्य भनेर हामी योग्य हुने होइन । तर यी, जो अरू, अरू भनिन्छ नि, यी अरूले पनि केही सर्त पूरा गरेको हुनुपर्छ । ती हुन् स् पत्नीलाई दुःख दिएको हुनुहुन्न, अहिले पुरुषको पक्षबाट है, पत्नी पनि असल हुनुपर्छ, पहिलो कुरा परिवार हो, परिवार लथालिङ्ग बनाएर नाम कमाउनुको कुनै अर्थ छैन, दोस्रो, बथान पिराहा र छिमेकी पिराहा हुनुहुन्न, तेस्रो अति ठग, आर्थिक शोषण गर्नेलाई पनि माफ हुन्न, ठोक्नुपर्छ, बलात्कार गर्ने त महाअपराधी हो, सकेको सजाय दिए हुन्छ, गरीबलाई हेप्ने फटाहालाई पनि सजाय दिनुपर्छ । समाज, संस्था र देशको दुश्मन पनि पापी हो, अपराधी हो, ठोक्नुपर्छ । अरू झिनामसिना गल्तीहरूको लेखा राखिन्न । मेरो जीवन दर्शन यही हो । बाको मनको कुरा ! एउटा कुरा, मन सफा राख्न कसैलाई पनि धोका नदिने, प्रतिशोधको भावना नपाल्ने ! कति म मात्र बकबक, तिमी पनि बोल न ! प्रोफेसर ।
बा, हजुर बोल्न थालेपछि म पार्थ, हजुर देवकीनन्दन, हजुरका हरेक शब्दहरूमा मानवता झल्किन्छ । म त सुन्न पाएर कृतज्ञ छु । तर हजुरलाई यो देशले चिनेन । कसैले पनि चिनेजस्तो लागेन । म त अब विराटस्वरूप देखेको हजुरको महासचिव, प्रवक्ता, अब हजुरको पक्षमा मज्जाले वकालत गर्नसक्छु । म ढुक्क छु । हजुर निर्मल, विमल, कन्चन, सज्जनहरू यही भन्छन् फेसबुक बाहेक हजुरको जीवनमा औंसी केही पनि छैन । त्यो उज्यालो बैकुण्ठनगरू हजुर त आलोकको विम्व, प्रतीक । छोरो, जूनियर मोग्याम्बो खुश हुवा ! बोल्यो सुपुत्र पनि, मन खोलेर । बस पुग्यो धार्के । प्रोफेसरले साथी सम्झियो आर के ! बोल्यो सामुन्नेमा आलोचना र परोक्षमा तारीफ, तारीफ गर्न लायक भए, फेरि छोरा, १००५ सही कोही हुन्न, हुन्न, हुन्न । र, १००५ गलत पनि कोही हुन्न । शाश्वत सत्य हो, अपवादलाई छोडेर । प्रोफेसर । बस पुग्यो राजधानी । हाते ब्याग समाए । झरे । गन्तव्य नजीक, समाए ट्याक्सी।
बा, मजा आयो । आज साँच्ची नै मज्जा आयो ! उज्यालो अनुहार बनाएर लुरे श्री । किन र छोरा ? मजा आयो बा ,मजा आ यो ।यो त अभूतपूर्व यात्रा भयो । हामीले कसैको पनि कुरा काटेनौं । यो चानचुने कुरा होइन । नत्र हरेक यात्रामा दश बीस जनाको धज्जी उडाउने गरिन्थ्यो । बा, मजा आयो । मेरो सङ्गतमा आएपछि, अक्सर, हुने यही हो । निन्दा उद्योग बन्द ! निरर्थक ! अनुत्पादक । तर, अपवादमा अति अन्याय भएमा कुरा काटिन्छ । आजको यात्रा सफल र सार्थक भयो होइन त ? बा, प्रोफेसर । सम्पूर्ण सफल, सम्पूर्ण सार्थक ! मजा आयो बा ? पुगे गन्तव्यमा । वेलकम, वेलकम दाइ र किताबेश्वर महादेव ! जोर उज्याला अनुहारहरू।
धनराज गिरी