• २०८१ चैत ६ बिहीबार

रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ कथासंग्रह लोकार्पण

साहित्यकार रमेश क्षितिजको कथासङ्ग्रह ‘एउटा मायी नगरमा’ सार्वजनिक गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरेका हुन् । कार्यक्रममा कथासङ्ग्रह बारे बोल्दै लेखक कुमार नगरकोटीले ‘एउटा मायी नगरमा’ नेपाली आख्यानको अनुपम उपलब्धि भएको बताए । किताबमा सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियाँसम्मका १७ वटा फरक कथा रहेको नगरकोटीले बताए । उनले भने, ‘यस किताबमा पढ्दै आएका कथाहरूभन्दा बेग्लै शिल्प र शैली छ ।’

लेखक क्षितिजले ४० वर्ष कविता लेखिरहँदा कथा लेखनमा आफूले जोखिम उठाएको बताए । ‘म सधैँ भीडबाट अलग रहन मन पराउने मान्छे, कथा पनि अलग लेख्ने कोसिस गरेको छु । प्रकाशक भूपेन्द्र खड्काले एक दशकदेखि नघचघचाएको भए यति चाँडै मैले यी कथा लेख्न सक्दिनथें’, उनले भने । समारोहमा गायक विश्व नेपालीको समूहले रमेश क्षितिजका ‘नमाग मसँग’, ‘आफूलाई भुलिरहें’, ‘आँखाभरि हिउँचुली’, ‘अचानोलाई थाहा होला’, ‘बटुवा’, ‘दशैं सम्झें’ र किताबको शीर्ष गीत ‘एउटा मायी नगरमा’ गीतहरू प्रस्तुत गरेको थियो । बुकहिलले प्रकाशन गरेको हार्ड कभर पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।