कविता
![](https://aksharang.com/wp-content/uploads/2021/12/11-DEC-SATURDAY-01.jpg)
कवाडीवालाको बोरा च्यातिएर साहित्यिक मूल्यका किताबहरू सडकमा छरपस्ट भएको खबर शहरभरि फैलियो । किताबहरूको लिस्ट नै प्रकाशमा आयो । लिस्टमा धनञ्जय सरको किताव पनि रहेछ ।
धनञ्जय सरले पहिले उत्सुकताका साथ कितावको लिस्ट पढ्नु भयो र आफ्नो पनि नाम देखेपछि पीडाका साथ एकपटक दोहोरयाउनु भयो ।
‘सित्तैं बाँडेको किताब पनि नपढ्ने को हो- त्यो स्वाँठ ?’ धनञ्जय सरको पारो तात्यो ।
‘पढ्न त पढेन रे लौ ! अरुको सिर्जना कवाडीलाई बेच्न मिल्छ ? ’ धनञ्जय सरको पारो केही मथ्थर भएको देखियो ।
‘मान्छेको रुचि विचार नगरीकन आफ्नो सिर्जना बाँड्नुमा कि मेरै कमजोरी छ ?’ धनञ्जय सर आत्ममूल्याङ्कनमा ओर्लिनु भयो ।
अन्त्यमा धनञ्जय सरले निचोड निकाल्नु भयो-
१) नेपालमा साहित्य लेखेर कमाउने पनि छन्; म त्यसमा पर्दिनँ ।
२) साहित्य पढ्न सबैले पढ्न रुचि राख्छ भन्ने पनि हुँदैन ।
३) रुचि भएको पाठकले साहित्य किनेर/खोजेर पनि पढ्छ ।
४) साहित्यमा रुचि भएको पाठकले पनि सबै लेखकका किताब रुचिका साथ पढ्छ भन्ने पनि हुँदैन ।
५) मेरो नयाँ साहित्य त्यही पाठकले रुचाउन सक्छ; जसले मेरो अघिल्ला सिर्जना पढेको छ ।
‘अब किताब छाप्ने/नछाप्ने त ?’ केही दिनदेखि घरमा भुन्भुनाइरहेको विषयलाई लक्ष्य गरेर श्रीमती धनञ्जयले प्रश्न गर्नुभयो ।
जवाफमा धनञ्जय सरले भन्नु भयो- ‘छाप्ने तर थोरै । बाँड्न पनि तिनीहरूलाई मात्र बाँड्ने; जसले मेरा पाँचवटा फुटकर रचनाहरूको शीर्षक/भावार्थ भन्न सक्छन् ।’
धनञ्जय सरका कुरा साहित्य बजारमा छिट्टै फैलिए ।
धनञ्जय सरको पछिल्लो प्रकाशन पहिले जस्तो रातारात निख्रिएन । आफ्नो सिर्जना सडकमा जानुभन्दा स्टकमा रहदा धनञ्जय सरलाई सन्तोष लागेको छ ।
ईश्वर पोखरेल, बोझेपोखरी, ललितपुर