• २०८१ पौष २९ सोमबार

हरिप्रसाद न्यौपानेको महाकाव्य ‘देवव्रत’ लोकार्पण

साहित्यकार हरि प्रसाद न्यौपानेको महाकाव्य ‘देवव्रत’ लोकार्पण गरिएको छ । लेखनाथ पुस्तकालय, चन्द्रगढीको नियमित मासिक कार्यक्रम सुकबारे भेलाले आयोजना गरेको कार्यक्रममा पुस्तकालयकी का.वा. अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्षता तथा प्रा. डा. गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशिष्ट आतिथ्य आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, कन्काई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी, वरिष्ठ पत्रकार चन्द्र भण्डारी तथा रुद्र गौरी श्री अम्बिका ओलीप्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीलाई मञ्चासिन गराएर कार्यक्रम अघि बढेको थियो ।

पुस्तकालयका अध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत तथा सचिव हरिकिशोर आचार्यले सुसन्चालन गर्नुभएको कार्यक्रममा मञ्चासिन व्यक्तिहरु, प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्षबाट सामुहिक रूपमा महाकाव्य ‘देवव्रत’को लोकार्पण भएको थियो ।

कवि जीवनाथ सुवेदीले लोकार्पित महाकाव्य ‘देवव्रत’को समीक्षात्मक परिचय प्रस्तुत गर्नुभयो । यसपछि कविगोष्ठीमा कार्यक्रम प्रवेश गर्यो । कविहरु आरती पोखरेल, रश्मि असफल, गीता सुवेदी नेपाल, जयप्रसाद आचार्य, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, मोक्ष खतिवडा, तीर्थ चापागाईं, निर्मला बाँस्तोला, गोविन्द कोइराला, सत्यनारायण तायल, जमुना खनाल, मिना अधिकारी, गणेश निरौलामध्ये अधिकांशले महाकाव्य ‘देवव्रत’भित्रका काव्यांश र केहीले आफ्ना कविता सुनाउनु भयो । गणेश निरौलाज्यूको कविता ‘आवाज सुन्नुपर्छ’ले सबैलाई चकित पारेको थियो ।

महाकाव्यका कवि हरिप्रसाद नेउपानेले आफ्नो सिर्जनकर्मको इतिहास पनि बताउँदै यस पाँचौं कृतिसम्म आइपुगेकोमा निकै प्रेरणा कञ्चनजङ्घा एफएमको ‘छन्दको तरङ्ग’ पनि भएको उल्लेख गर्दै यस्तो प्रतिकूल वातावरणमा आफ्नो कृति लोकार्पण कार्यक्रममा उपस्थित सबैलाई एकप्रति ‘देवव्रत’ उपहार लिइदिन अनुरोध गर्नुभएको थियो ।