• २०८१ फागुन ६ मङ्गलबार

अनेसास केन्द्रले मोती जयन्ती मनायो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा बोर्ड अफ ट्रस्टीको आयोजनामा १५८ औं मोती जयन्ती तथा निवर्तमान कार्यसमिति (सन् २०२२–२०२४) बिदाइ कार्यक्रमको आयोजना गरियो । महासचिव प्रकाश नेपालले सञ्चालन गरेको उक्त कार्यक्रममा बिओटीका सभापति पदम विश्वकर्माले मोती जयन्ती तथा तीज कार्यक्रमलाई अनेसासले हरेक वर्ष आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै निवर्तमान कार्यसमितिले सम्पन्न गरेका ठोस कार्यक्रमहरूको उल्लेख गरी धन्यवाद समेत दिए ।

संस्थापक अध्यक्ष होमनाथ सुवेदीले क्वान्टम साहित्य र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अन्तर्सम्बन्धबारे चर्चा गरे । पूर्वअध्यक्ष पुरू सुवेदीले अनेसासले सुरू गरेको भवन निर्माण कार्यलाई समयमै पूरा गर्नुपर्ने कुरामा जोड दिए । निवर्तमान अध्यक्ष गोवद्र्धन पूजाले अनेसासले आफूलाई नयाँ जीवन दिएकोमा ॠणि बनेको र जीवनपर्यन्त अनेसासप्रति समर्पित रहने कुरा व्यक्त गरे । सल्लाहकार तीर्थराज अधिकारीले निर्वाचित नव कार्यसमितिले अनेसासको गतिलाई एक पाइला अगाडि लैजानुपर्ने धारणा व्यक्त गरे ।

पूर्वअध्यक्ष मोहन सिटौलाले पूर्वीय र पाश्चात्य साहित्यको साक्ष्यमा मोतीरामीय साहित्यिक प्रवृतिबारे चर्चा गरे भने वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले मोतीरामले भक्तिधाराको परम्पराबाट एक पाइला अगाडि सरेर आफैं संस्था जस्तो बनी श्रृङ्गारिक धाराको प्रवर्तन र उन्नयन गर्दै उक्त धाराको नेतृत्वसमेत गरेको धारणा व्यक्त गरे । महासचिव राजु सिटौलाले निवर्तमान कार्यसमितिको ठोस कार्यबाट प्रेरणा लिई थप राम्रा काम गर्ने योजना रहेको तथ्य औंल्याए ।

अनेसास कार्यसमिति अध्यक्ष सर्वज्ञ वाग्लेले सभापतिको आसनबाट बोल्दै प्रवासी नेपाली स्रष्टाका समग्र कृतिलाई अर्काइभमा स्थापित गरी अन्तर्राष्ट्रिय अध्ययनको विषय बनाउनमा आफू र आफ्नो समूह कटिबद्ध रहेको धारणा व्यक्त गरे । कार्यक्रममा आनन्द श्रेष्ठ, खिम केसी र मन्जिला अनिलले आ-आफ्ना सिर्जना वाचन गरे । स्मरणीय छ, बिओटी पदाधिकारीहरू नेत्रबन्धु पोखरेल, रश्मी भट्ट निवर्तमान कार्यसमितिका पदाधिकारीहरू राजेन्द्र श्रेष्ठ, निजानन्द मल्ल, शकुन ज्ञवाली र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू सुदीपभद्र खनाल, गणेश खड्का, हरिप्रसाद अधिकारी, सरिता अर्याल, तारा अधिकारी, तारा उप्रेती, पुष्पा खनाल, दीप कार्की, रत्ना सुब्बा तथा साहित्यिक व्यक्तित्व डा. मुकुन्द वाग्ले पथिक आदिको सहभागिताका कारण कार्यक्रम निकै सभ्य र भव्य बनेको थियो ।