• २०८२ बैशाख १४ आइतबार

प्रज्ञा-प्रतिष्ठानमा ‘बदलिँदो परिवेशमा तिज’ र तिज गीतको सान्दर्भिकता बारे बहस सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले ‘बदलिँदो परिवेशमा तिज’ र तिज गीतको सान्दर्भिकता विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभएको थियो । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकआपसमा भेला भएर सात र आठ हजार वर्षदेखि तिज मनाउँदै आएका छन् । पितृसत्ताविरुद्ध महिलाहरू तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् । यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सांस्कृतिक पर्व तिजको मौलिकता दलाल पुँजीवादको प्रभावमा फसेकोमा चिन्ता व्यक्त गर्नु भएका थियो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तिजले नारीबिच एकाआपसमा भेला भई सुखदु:ख, अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व नै तिज हो भन्नेमा जोड दिनुभएको थियो । उहाँले तिजका नाममा देखा परेका अशोभनीय तडकभडकहरू प्रति सबै सजग रहनुपर्ने सुझाव दिनुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य र पद्य) विभाग प्रमुख बाबा बस्नेतले तिज पुरातन संस्कृति र परम्परामा आधारित भएपनि समयसापेक्ष नवीनशैली देखापरेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तिज पर्व व्यापक भइसकेको छ । यसको मौलिकता र सांस्कृतिक मूल्यलाई संरक्षण गर्नु हाम्रै दायित्व रहेको उल्लेख गर्नुभएको थियो । उहाँले तिज यसरी नै मनाउनुपर्छ भन्ने कसैको अधीनमा रहेको छैन । कुनै पनि विसङ्गतिबाट मुक्त हुँदै महिलामुक्तिका लागि तिज पर्वका गीतसङ्गीत प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा म‌ैनालीले बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  उहाँले तिज र तिज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तिजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रीत गर्नुभएको थियो । उहाँले अवधारणापत्र प्रस्तुत गर्दै महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरू तिज गीतमा समावेश हुनुपर्छ । तिज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी, महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ । जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ । महिलाले आफ्नै ठाउँ सिर्जना गर्न सक्नुपर्छ । आफ्ना समस्याको पहिचान गरी समाधान गर्न र निर्णय लिन सबल र सक्षम बनाउने खालका तिज गीत प्रयोगमा ल्याउनुपर्छ । यसका लागि आँसु, रोदन, उत्तेजना र बजारमा बिक्री गर्ने महिलाको शारीरिक सुन्दरता बेच्ने गीत बन्देज हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।

उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. डा. ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृति प्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताउनुभएको थियो । अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्नु शिव महापुराणको अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताउनुभएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ, प्रभा बराल, देवकी तिमल्सिना र तारा बरालले आ-आफ्नो जिज्ञासा राख्नुभएको थियो । योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।