कुनै समय शिक्षा आदानप्रदानको माध्यम थियो- गुरुकुल । मलाई शिक्षाको त्यस पद्धतिका बारेमा जानकारी छैन । मभन्दा अगाडिको पुस्ता पढ्न कि तीनधारा पाठशाला जान्थ्यो, कि काशी जान्थ्यो । संस्कृत विश्वविद्यालयहरूमा संस्कृत भाषा, व्याकरण, साहित्य र पूर्वीय धर्म दर्शनका अनेकन् विधाहरू पाठ्यवस्तु रहन्छन् होला । यसका बारेमा पनि मलाई खासै जानकारी छैन । पछिल्लो समय विद्यालयलाई निजी र सामुदायिक भनेर विभाजन गरिएको छ । मैले यस चरणको विद्यालय शिक्षाको पद्धतिलाई अभिभावकका रूपमा मात्र चिनेको छु । त्यसैले यस चरणका शिक्षाको बारेमा पनि मेरो अन्तरङ्ग ज्ञान छैन ।
२०२८ सालमा नेपालभित्र शिक्षा पद्धतिको रूपमा जुन अभियान लागू भयो; नेपाली समाजमा त्यो ‘नयाँ शिक्षा’को नामबाट चिनियो । म त्यही नयाँ शिक्षा लागू हुनुभन्दा केही वर्षअघि विद्यालयीय शिक्षामा आएँ र नयाँ शिक्षाअन्तर्गत नै २०३७ सालमा एसएलसी उतीर्ण भएँ । अतः विद्यालयीय शिक्षा सम्बन्धी अनुभवलाई लिएर मैले बोल्ने कुरा पनि यही समयसीमामा आधारित हुने भए । म यस आलेखमा मैले विद्यालय शिक्षा आर्जन गर्न कुनकुन विद्यालय चहार्नु परयो; कुन कुन शिक्षकले मलाई पढाउनु भयो; शिक्षण/प्रशिक्षणको ममा कस्तो प्रभाव परयो, यस काल खण्डमा म ककसको सहपाठीको रूपमा रहें भन्ने बारेमा केन्द्रित रहने छु ।
म सिन्धुली जिल्लाको तीनपाटनमा आर्थिक दृष्टिले मध्यमवर्गीय हिन्दूधर्मावलम्वी संयुक्त वैष्णव परिवारमा जन्मेको हुँ । तीनपाटन खुँज हो चँदाहा खुँज । नेपाल संघीय संरचनामा आउनुअघि यो फाँट दुई गाविसमा विभाजित थियो- बेल्घारी र भीमथान । घना आवादी भए पनि तीनपाटन क्षेत्रमा ती दिनमा दुइटा मात्र पाँच कक्षासम्म पढाइ हुने स्कूल थिए- चन्द्रावती स्कूल बेलघारी र भवानी स्कूल कत्लेशिखर, भीमथान ।
सबैको सिक्ने कुराको प्रारम्भ परिवारबाटै हुनेरहेछ । त्यसैले शिक्षाविद्ले आमालाई ‘पहिलो शिक्षिका’ भनेका होलान् । परिवारले मात्र होइन; खेल्ने साथीसमूह, छरछिमेक र समुदायले पनि कुनै न कुनै प्रकारले सिकाएको हुँदोरहेछ; मलाई सिकाइरह्यो । मेरो रूचि निर्माणको प्रारम्भिक आधार बन्नुभयो- मेरी हजुरआमा । काकाबाले त्यसलाई प्रारम्भिक आकार दिनुभयो । केटाकेटी उमेरमा स्व. खिलनाथ दाहाल (काकाबा) गीतका गेडा उन्ने अभ्यास गर्नुहुन्थ्यो, म गाईबस्तु हेर्न जाँदा उहाँको यस अभ्यासबाट प्रभावित हुन्थे । यी सबै मेरा लागि अनौपचारिक शिक्षाका कुरा भए ।
अक्षरको दुनियाँमा मलाई प्रवेश गराउन दुई निकट व्यत्तित्वहरू प्रयत्नशील हुनुभयो- बा र सानोमामा । बाले कखरा र सानोमामा शंकर घिमिरेले मलाई एबीसीडी सिकाउन खोज्नुभयो तर किन सक्नुभएन भने; लद्दु थिएँ- म । मामा क्रोधलाई भित्रभित्रै दबाउनु हुन्थ्यो; बा दबाउनु हुन्नथ्यो । तर बाले पनि केही दिनपछि हार मान्नु भयो । अनि, म स्कूल भर्ना गरिएँ । अनि औपचारिक रूपमै अक्षरको दुनियाँमा प्रवेश गरें- मैले ।
तीनपाटन स्थित बेलघारीको चन्द्रावती स्कुल निर्माण हुनुअघि पंचायत घरमा हुने गर्दथ्यो- पढाइ । यस घरको भुँइतलामा काठको फल्याकमाथि बसेर पढाइको अभ्यास गरेको म संझिन्छु । भुकुनेका दामोदर दाहाल र म त्यही समयदेखिका साथी हौं । पंचायत घरमा पढ्दाताका चौरको पश्चिमतर्फ चन्द्रावती स्कूलको नयाँ भवन बन्दै थियो । केही समयपछि यही भवनमा पढाइ हुन थाल्यो । यस काल खण्डका शिक्षकहरूमा म गोदार (सिराहा) का केशव घिमिरे सरलाई सम्झिन्छु । उहाँले छाडेपछि खुर्कोटबाट युवराज पोखरेल सर आउनु भयो । कक्षाको पहिलो दिन व्यक्तिगत सरसफाइका बारेमा उहाँले उदाहरणसहित जे भन्नुभयो, त्यो ’मैले बिर्सेको छुइनँ’ होइन, त्यो आजपर्यन्त मेरो व्यक्तिगत सरसफाइसम्बन्धी सुझबुझ बन्यो । उहाँले भन्नुभएको थियो- ‘हाम्रो सबैभन्दा बढी धुइने अङ्ग हो- हात । तर निकाल्नै खोज्ने हो भने हत्केलाबाट पनि मयल निकाल्न सकिन्छ । देख्दा अरुले छिःछिः नगर्ने स्तरमा हामी सधैं रहनु पर्छ ।’ मैले तीनपाटनकै पहिरेका स्वर्गीय रामप्रसाद घिमिरे र स्वर्गीय रत्नप्रसाद घिमिरेसङ्ग पनि पढ्न पाएँ ।
एक कक्षा पास गरेपछि अम्बिका दिदीले मलाई आफूसंगै कमलाखुँज स्थित काउछे लैजानु भयो । भिनाजु ठगेन्द्र घिमिरे रानिबासस्थित स्कूलमा मास्टर हुनुहुन्थ्यो । भरखर वैवाहिक जीवनमा आबद्ध हुनुभएकी दिदीलाई माइतीको न्यास्रो थियो होला । त्यसमाथि हाम्रो घरपरिवारले बुझ्यो होला- ’ज्वाइँ आफै मास्टर हुनुहुन्छ, यसको पढाइ राम्रो हुन्छ ।’ अनि कमलाखुँजको रानिबासस्थित स्कूलमा भर्ना गरियो- मलाई । यसपछि स्वर्गीय ठगेन्द्र घिमिरे (भिनाजु) मेरो शिक्षक हुनुभयो । यहाँ म एउटा कक्षा मात्र पढें । अनि फेरि म चन्द्रावती स्कूलमै भर्ना भएँ । अब राम्जी घिमिरे, भोला दाहाल, भोजराज घिमिरे, कुमार दाहाल, मुकुन्द बुढाथोकी, रामकुमार घिमिरे, बासु दाहाल, तुलसा दाहाल आदि र म सहपाठी भयौं । झुँगाका मुकुन्द बुढाथोकीले यही चरणमा हामीलाई भोर्लाको टाटा खान सिकाए । टर्रो, तितो र गुलियो स्वादको समिश्रण भोर्लाको टाटाको स्वाद म अझै संझिन्छु ।
चार कक्षा मैले सर्लाहीको बयलबासको बजार क्षेत्रको स्कूलमा पढेको हुँ । सर्लाही जिल्लाको शान्तिपुरमा पनि हाम्रो घरजग्गा थियो र म यहाँको आफ्रनै घरमा बसेर बयलबासको बजारको स्कूलमा पढ्न थालें । जगतनारायण श्रेष्ठ, शम्भु मैनाली र पर्मिल श्रेष्ठ आदि यहाँ मेरा सहपाठी रहे । हाम्रै स्कूलनेरको आलिको बाटो हिड्थे- नारायण हाइ स्कूलमा पढ्न जाने विद्यार्थी । हामीभित्र तिनीहरूकै हारमा नारायण हाइ स्कूलमा पढ्न जाने रहर हुर्किदै थियो ।
तर बयलबास बजारस्थित स्कूलबाट चार कक्षा पास भएपछि पाँच कक्षा पढ्न म फेरि तीनपाटन फर्काइएँ । यसपटक भने म भीमस्थान स्थित भवानी स्कूलमा भर्ना भएँ । यो स्कूल पहिले कत्लेशिखरमा रहने गरी स्वीकृत भएको रहेछ । कत्लेशिखरबाट बसोबास उखडिएपछि यो स्कूल पनि भीमस्थान झरेछ । त्यसैले स्कूलको ठेगानामा लेखिन्थ्यो- कत्लेशिखर, भीमस्थान । स्कूलको यो ठेगाना मलाई धेरै पछिसम्म अर्घेलो जस्तो लाग्थ्यो । यहाँ तीर्थराज काफ्ले र निलहरि पौडेल शिक्षक हुनुहुन्थ्यो । मधुसुदन दाहाल, गणेश कोइराला, माधव पौड्याल र म गरी हामी जम्मा चारजना विद्यार्थी-कक्षा पाँचमा ।
छ कक्षा पढ्न म बयलबासस्थित नारायण हाइस्कुलका भर्ना भएँ । यहाँ केही दिन पढेको मात्र के थिएँ, आमाको जोडबलले घरबाट केही नजिकको सिन्धुलीकै भिमानस्थित जनज्योति स्कूलमा कक्षा छ मा भर्ना भएँ । भर्ना भएर पढ्न एक दिन पनि नपाएको स्कूलको रूपमा म यो जनज्योति स्कूललाई संझिन्छु । अनि बिरामी परें । झन्डै एक महिना थलिएँ । दुई वर्ष पढिएन ।
पाँच कक्षासम्म पढाइ हुने भीमस्थानको भवानी स्कूल भवानी निम्नमाध्यामिकमा रूपान्तरण भएपछि म फेरि छ कक्षामा भर्ना भएँ । कमलाखुँजका कुलमणि आचार्य सर हुनुहुन्थ्यो- यहाँ । प्रारम्भका केही दिन हामीले चौरमा बसेर पढ्यौं । भुकुनेका बासु दाहालले हामीलाई अङ्ग्रेजी पढाउनु हुन्थ्यो । हामी विद्यार्थीका बीच बढी प्रिय भने भैरव सर हुनुहुन्थ्यो- म्याथटिचर । भैरव हमाल सर र बासु सरले छाडेपछि रामेश्वर कोइराला सर आउनु भयो- सिन्धुलीबाट । खेलकद र गायनमा विशेष रूचि राख्ने अनि योगको अभ्यास गर्ने कोइराला सर बेलघाँरीमा हाम्रै साहिली दिदीको घरमा बस्नुहुन्थ्यो । कोइराला सरले पद्माशन, शीर्षासन र प्राणायाम सम्बन्धी जुन सामान्य धारणा ममा विकास गरिदिनु भयो; ती आजपर्यन्त मेरा सामल बनेका छन् । यस चरणका सबै साथीहरू मेरो स्मरणमा छन् ।
निम्नमाध्यमिक तह भीमस्थान स्थित स्कूलबाट उतीर्ण भएपछि आठ कक्षा पढ्न म फेरि बयलबासस्थित नारायण माध्यमिक विद्यालयमा पुगें । यहाँ धार्मिक प्रवृत्तिका स्वर्गीय मुसाफिर झा सरको विशेष साख थियो । हामीलाई ईतिहास पढाउनु हुन्थ्यो- मुसाफिर सर । नौ कक्षादेखि म स्कूलको होस्टलमै बस्न थालें । झन्ड़ै १३० जना जति थियौं- होस्टलमा । हामी विद्यार्थीले साझा मेसका लागि चामल र दाल किनेर दिनु पथ्र्यो, तरकारी र सरसफाइका लागि छुट्टै पैसा दिनु पथ्र्यो । उसो त यी सबैको एकमुस्ट पैसा दिए पनि हुन्थ्यो । साँझ- बिहान दालभात र तरकारी, बस् । खाजा खान स्कुलदेखि उत्तरतर्फ मण्डलजीको खाजा पसलमा जानु पथ्र्यो । होस्टरमा के पनि हुन्थ्यो भने, आलुको स्वादिलो चोखा केही देओस् भनेर हामी पण्डितजीको लास्टै खुशामद गथ्र्यौं ।
यिनै दिनमा एकजना जोगी आए र हाम्रो स्कुलमा प्राकृतिक अभ्यास र योगसम्बन्धी एउटा शिविर सञ्चालन गरे । अनि हामी धेरै शिक्षक विद्यार्थीले टुथपेस्ट र बुरुस नालीमा मिल्काइ दियौं । यी जोगीले मेरो साबुनबारेको समझलाई यसरी प्रभावित पारे: म साबुनको प्रयोग कम गर्छु मात्र होइन, कयौ वर्ष मैले माटोले नुहाएको छु । होस्टलमा बस्न थालेपछि र भातभान्सा एउटै भएपछि रामएकवाल साह, शारदानन्द वर्मा र उमेशलाल दास सरसङ्ग निकटता बढ्यो । मोतीहारीका वर्मा सर नेपाली बोल्न उति जान्नु हुन्नथ्यो तर अङ्ग्रेजीमा दह्रो पकड थियो । वर्मा सर ट्युसन पढाउनु हुन्थ्यो, म पनि उहाँसङ्ग ट्युसन पढ्थें । मेरो अङ्ग्रेजी भाषा ज्ञान जेजस्तो छः त्यो शारदानन्द वर्मा सरको एकलौटी योगदान हो । यहाँ नरेश चौधरी सर होस्टलको वार्डेन हुनुहुन्थ्यो, म्याथ पढाउनु हुन्थ्यो, कविता पनि रच्नु हुन्थ्यो ।
मैले आठदेखि दश कक्षासम्म एउटै स्कूलमा पढ्न पाएको स्कुल हो- सर्लाहीको बलयबासस्थित नारायण माध्यमिक विद्यालय । नत्र मैले कुनै पनि स्कुलमा लगातार पढ्न पाइनँ । मेरा स्कुलका साथीहरूमा सबैजसो ब्राह्मण क्षेत्री जस्ता समाजका उच्च जातका सदस्यहरू रहे । जनजातीय समुदायबाट केही संख्या नेवारको रह्यो । त्यस कालखण्डमा त्यस क्षेत्रमा दलित समुदायको विद्यालय शिक्षामा पहुँच थिएन भने पनि हुन्छ । नेवार बाहेक अन्य जनजातिका बालबाालिका पनि शिक्षाको अवसरबाट अलग रहे । शिक्षामा महिला सहभागिताको अवस्था अझ दयनीय देखिन्छ । म तीन कक्षामा पढ्दा ब्राह्मण समुदायबाट एकजना सहपाठी थिइन्- तुलसा दाहाल । यिनले पाँच कक्षा पनि उतीर्ण गर्न पाइनन् । त्यसपछि छ र सात कक्षामा जम्मा दुईजना दिदीबहिनी छात्राहरू हाम्रो सहपाठीका रुपमा रहे- दुर्गा दाहाल र लक्ष्मी दाहाल । आठ कक्षामा सर्लाहीको बयलबासस्थित नारायण मा. वि.मा भर्ना हुँदा कक्षामा विद्यार्थीको संख्या १२८ थियो र यहाँ नौजना छात्राहरू थिए । यी पनि पहाडी मूलका ब्राह्मण र क्षेत्री समुदायबाट आएका थिए । यीमध्ये केहीको दश कक्षामा नपुग्दै विवाह भयो र बीचैमा विद्यालय छाड्ने अवस्थामा पुगे । यहाँ तराई मूलका विद्यार्थीहरुको संख्या उल्लेख्य थियो र जनजातीय समुदायका पनि केही विद्यार्थी साथीहरू थिए ।
हो; एस.एल.सी. पास गर्दाओर्दा म विविध समुदायमा रहेका स्कूलहरूमा पढ्न पुगें । यसबाट मलाई फरक स्कूलका साथीहरूका बीचमा नयाँ साथीका रूपमा उभिने अवसर प्राप्त भयो । म धेरैको साथी हुन पाएँ । एउटा स्कूल छाडेर अर्को स्कूलमा भर्ना हुँदा मेरो रोलनम्बर सबैभन्दा अन्तिमको नम्बर हुन्थ्यो । यसलाई मेरिटको आधारमा बुझ्दा त्यस कक्षाको सबैभन्दा लद्दु विद्यार्थीको पहिचान हुन्थ्यो- मेरो । त्यसैले मलाई कक्षामा सबैभन्दा लद्दु हुन पनि खास बाधा थिएन । हरेक विद्यालयमा प्रवेश गर्दा नयाँ विद्यार्थी हुने भएकाले मेरो र कक्षाका अरू साथीहरूका बीचमा स्थायी प्रतिद्धन्द्धिताको अवस्था उति हुर्किन पाएन । विविध साँस्कृतिक समुदायका सदस्यहरूसंग म साथीका रूपमा रहें । धेरथोर ती समुदायको संस्कृतिसंग पनि परिचित हुन पाएँ- मैले । धेरै विद्यालयका शिक्षकहरूको शिक्षण सीप र दक्षताबाट म धेरथोर लाभान्वित हुन पाएँ । योग र प्राकृतिक चिकित्साका केही अभ्यासहरूसंग पनि म परिचित भएँ । मैले विद्यालय शिक्षा प्राप्त गर्ने क्रममा पनि परिवार छाडेर बस्नु परेको थियो । यसले मलाई व्यक्तिगत सरसफाई, खर्चको व्यवस्थापन, फरकफरक साँस्कृतिक समूह, उमेर समूह र विविध स्टाटस्का व्यक्तिहरूसंग कसरी सामाजिक अन्तक्र्रिया गर्ने भन्ने पक्षमा परिपक्क हुन दवाव थियो । छात्रावासको नियमबद्ध क्रियाकलापले मेरो दिनचर्या केही हदसम्म लयबद्ध हुन सक्यो ।
ईश्वर पोखरेल
९८४५२८६८७९