• २०८२ भाद्र २९, आईतवार

बा र बाको सारथी !

 गीताश्री शर्मा

गीताश्री शर्मा

बा !
बा ! कुममा मैलो खागीको झोला
झोलामा चिना बनाउने पहाडे कागज
कलम, मसी, पात्रो र केही पूजाआजाका पोस्तक
कठालोमा केही करङ खुस्किएका
बेतको बीँड भएको छाता
फाट्न फाट्न लागेका दौरासुरुवाल
दश ठाउँ टालेको कपडाको जुत्ता
पसिना गह्नाउने नेपाली टोपी
लगाएका हाम्रा बा,
लुखुर-लुखुर,
गाउँघर, वर-पर, तल-माथि हिँडिरहन्थे !
हाम्रा बालाई न झरीले रोक्थ्यो,
न हावा-हुण्डरी, न असिना-पानीले छेक्थ्यो,
निथ्रुक्क भिजेर पनि
घरमै आएर
आमाले पकाएको
कहिले तातो जाउलो,
कहिले मकैको च्याँख्ला,मकैको पीठाको ढिँडो
गाईको दूधसित खाएर
आमाका छेउमा
सुटुक्क पसेर निधाउँदथे हाम्रा बा !
आठजना सन्तानका अभिभावक भए,
किन कि ! थिए उनीसित
फाटेको खागीको झोलामा
सन्तानका पापी पेटहरू, भविष्यहरू
थाप्लोमा भएको ऋण,
छोरा-छोरीको आवश्यकता
श्रीमतीको रहर, आफन्तको आशा !
बालाई थाहा थिएन राजनीति,
झण्डा कुन चराको नाम हो,
नेता भनेको साधु हो कि पटमूर्ख
जिन्दावाद र मुर्दावाद-
बालाई झर्को लाग्ने रुप्पीको जस्तो कर्कश आवाज,
पार्टीको घोषणा-पत्र, सङ्कल्प-पत्र ।, कसम-पत्र
बा कल्पना गर्थे –
मागिखान तल मैदानबाट आएका
ठगहरूले बनाएका धोकेबाज कागजात ।

बाको छातासँग
अनौठो नाता थियो-
गोडा थरथराउँदा धनबहादुरको लौरो बनिदिन्थ्यो
पनीपर्दा ओत बनिदिन्थ्यो,
शत्रु आइलाग्दा-
ओसाविन लादेनको मिसायल जस्तै
गनको काम गरिदिन्थ्यो
अनि
घामको रापले पिसोल्टिँदा
शीतलताको छहारी बनिदिन्थ्यो,
ओत बनेर घरको काम गरिदिन्थ्यो ।

सायद यसैले हुनसक्छ
बाको थियो दह्रो कहिल्यै नछुट्ने
माटो र ढुङ्गाको
नङ् र मासुको जस्तो सम्बन्ध
छाता र झोलासँग ।
बाका इष्टमित्र, बन्धु-बान्धव, आफन्त
घनिष्ट मित्र अनि सुख-दुस्ख
थिए यिनै छाता र झोला !
न यिनले कहिले छल कपट गरे
न कहिले स्वार्थी बने
न कहिले गुनासो पोखे
न खुट्टा तानेर छिर्के लगाए
लगाए त केवल !
मित्रता, दोस्ती र सारथी
**


गीताश्री शर्मा
गान्तोक, सिक्किम