• २०८१ फागुन १ बिहीबार

बागमती

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

बागमती सभ्यता हो
बागमती स्नान संस्कृति हो
बागमतीमा अन्त्यष्टी संस्कार हो
बागमती वन्दनीय मानिन्छ
पुजनिय पनि हो ।

आचमनका लागि
संङ्लो बागमती
सपना मात्र हो ।

वाग्गुमुडा, बाहुमती, वाग्वति
वा बागमती जे सुकै भने पनि
काठमाडौँको ढल भएको
विषाक्त र
मृत छ ।

बागमतीलाई बागमती
हुनुको छुट्टै पीडा छ
किनार भरी घाटहरू छन
शव दहन गरुन वा समाधी
भ्रुण हत्या वा सालनाल बिसर्जन
ढल निकास गरून्
मल मुत्र बिसर्जन
सहजै सहनु पर्ने
जसले
बागमती बागमती रहेन ।

तराई पुगे पछि
सङ्लो पानी देखिए पनि
सफा भने होइन
तै पनि बागमती हो ।

वर्खाको बागमती
यमराजको दुत जस्तै हुन्छ
खोका छाप्रा हटाउन हिडेको
महानगरको डोजर जस्तै हुन्छ
छापामार्न निस्केको
अख्तियारको टोली जस्तै हुन्छ
खटाए पठाएको
गरेरै छोडछ ।
बागमतीसंग
सिचाइ गर्ने प्रयाप्त जमिन पनि छैन
फराकिलो गरि बग्ने ठाउँ पनि छैन
छन त छन्
बागमतीको पानी नचल्ने
गगनचुम्बी घरहरू छन्
तटबन्धले बाधिएका किनार छन्
वालुवा सोहर्ने उपभोक्त छन् ।

बागमती मात्र होइन
बिष्णुमती, रुद्रमतीको पनि
त्यही दशा हो
बागद्वारदेखि कमलासम्म
स्वतन्त्र बग्न पनि पाएको छैन
सुसाउने स्वतन्त्रता पनि छैन

जे भएनी बागमती
बागमती नै हो ।


कैलासकुमार पाण्डेय
परशुराम ५ बिष्णुपुर, डडेल्धुरा